‘नेपाली ब्रो’ का छोराको दर्दनाक बयान- जेठ २२ गते दिनभर के-के भएको थियो ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले आफ्नै बुबा कुमार थापामगर (नेपाली ब्रो) र उनकी प्रेमिका प्रतीक्षा आचार्यविरुद्ध गम्भीर र सनसनीपूर्ण बयान दिएका छन् ।

बुवाले आमाको हत्या आवेगमा नभई योजनाबद्ध ढंगले र अरूको उक्साहटमा गरिएको भनाइ उनको छ ।

जेनिशका अनुसार उनले ७-८ महिना पहिले आफ्ना बुबा कुमार र प्रतीक्षा आचार्य बीचको टेलिफोन कुराकानी सुनेका थिए ।

बयानमा उनले भनेका छन्, ‘प्रतीक्षा आचार्यले पहिले आफ्नो श्रीमतीलाई मार, अनि बल्ल म तिम्रो घरमा भित्रिन्छु भनि भनेको मैले आफ्नै कानले सुनेको थिएँ ।’

बुबाको फेसबुक मेसेन्जरमा प्रतीक्षा र बुबा सँगै क्लब र डिस्कोमा गएका भिडियोहरू भेटेपछि आमालाई आफूले नै पठाइदिएको पनि उनले बताएका छन् ।

जेनिशले आफ्ना काका विक्रम थापामगरले पनि बुबालाई हत्याका लागि उक्साएको आरोप लगाएका छन् ।

विक्रमले ‘एउटा श्रीमती तह लगाउन सक्दैनस्, बुढीको पेटिकोट लगाएर हिँड, कति पैसा लाग्छ म खर्च गर्छु’ भन्दै बुबालाई उक्साउने गरेको बयानमा उल्लेख छ ।

ईश्वरीले कुमारविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेपछि धरौटीमा छुटेका कुमारले यसअघि पनि परिवारलाई मार्ने प्रयास गरेको खुलेको छ । जेनिशका अनुसार कुमारले कोठा बाहिर ग्यासको सिलिन्डर पड्काएर सबैलाई मार्न खोजेका थिए, तर छिमेकी र आफन्तको मध्यस्थतामा त्यतिबेला उजुरी गरिएको थिएन ।

हत्याको भएको दिनका सम्पूर्ण घटनाक्रम जेनिशले आफ्नो बयानमा भनेका छन् । उनको बयान जस्ताको त्यस्तै-

प्रस्तुत मुद्दाको जाहेरवाला अम्बिका भुजेल मेरो ठुली आमा हुन् । प्रतिवादी कुमार थापामगर बुबा, मृतक ईश्वरी भुजेल आमा, प्रतिवादी विक्रम थापामगर मेरो काका हुन् । प्रतिवादी पूजन थापा क्षेत्री र प्रतीक्षा आचार्यलाई सामाजिक सञ्जालमार्फत चिनेको हुँ ।

केही वर्ष पहिले आमा ईश्वरी भुजेल र बुबा प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगर सामान्य वादविवाद हुने गरेकोमा आपसमा मेलमिलाप गर्ने गरेका थिए । निज प्रतिवादी कुमार थापामगरले परस्त्रीहरूसँग सम्बन्ध राख्ने भएकाले बेला-बेलामा आमा ईश्वरी भुजेलले थाहा पाई निज प्रतिवादीलाई सम्झाउन खोज्दा उल्टै वादविवाद झै-झगडा गर्ने गरेका थिए । करिब १ वर्ष पहिले निज प्रतिवादी १३ कुमार थापामगर र प्रतीक्षा आचार्यबीच प्रेम सम्बन्ध रहेको, निजलाई घुमफिर गराउने गरेको कुरा यकिन भएपछि आमा ईश्वरी भुजेल तथा हामी घरपरिवारका मानिसहरूले सम्झाई बुझाई गर्दा नमानेपछि प्रहरी कार्यालयमा समेत पटक–पटक उजुरी दिई सम्झाइबुझाई गरिएको थियो ।

प्रतिवादी कुमार थापामगरले प्रतीक्षा आचार्यलाई क्लब तथा डिस्कोहरूमा घुमाउन लैजाने बेलामा प्रतिवादी विक्रम थापामगरलाई पनि सँगै लैजाने गरेका थिए । मैले बेला-बेलामा प्रतिवादी कुमार थापामगरको फेसबुक आईडी चलाउने भएकाले मेसेन्जरमा प्रतिवादी कुमार थापामगरले प्रतिवादी विक्रम थापामगरलाई डिस्कोमा प्रतीक्षा आचार्यसँग नाचेको फोटो भिडियो पठाउने गरेको थाहा पाएको थिएँ । मैले सो भिडियो फोटोहरू आमा ईश्वरी भुजेललाई पठाइदिने गरेको थिएँ । मलाई मिति यकिन भएन, आजभन्दा करिब ७/८ महिना पहिले प्रतिवादी कुमार थापामगरले प्रतीक्षा आचार्यसँग टेलिफोनमा कुराकानी गर्दा प्रतीक्षा आचार्यले ‘पहिले आफ्नो श्रीमतीलाई मार अनि बल्ल म तिम्रो घरमा भित्रिन्छु’ भनेको मैले सुनेको थिएँ ।

बुवा र आमाबीच वादविवाद हुँदा काका विक्रम थापामगरले बुवालाई ‘एउटा श्रीमती तह लगाउन सक्दैनस्, तँ बुढीको पेटिकोट लगाएर हिँड, श्रीमतीलाई तह लगा, कति पैसा लाग्छ म खर्च गर्छु’ भनी उक्साहट दिने गरेका थिए । बुवाले घर-परिवारलाई वास्ता गर्न छाडेका थिए । कुमार थापामगर र प्रतीक्षा आचार्यबीचको प्रेम सम्बन्धलाई लिएर पटक-पटक आमा र र प्रतिवादीबीच वादविवाद भई आमालाई अनेक यातना दिई कुटपिट गर्ने गरेका थिए । पछि सामाजिक संजालमा पनि प्रतिवादी कुमार थापामगरले प्रतीक्षा आचार्यसँगको टिकटक पोष्ट गरेका पनि थिए ।

यसरी आमा ईश्वरी भुजेल र प्रतिवादी कुमार थापामगरबीच वादविवाद भइरहने क्रममा आमा ईश्वरी भुजेलले प्रहरी वृत्त बालाजुमा निज प्रतिवादी कुमार थापा मगरको नाममा वैवाहिक करणी मुद्दा दायर गरी प्रतिवादी कुमार थापामगर पक्राउ परी धरौटीमा छुटी मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ । सो मुद्दामा छुटेर आएको दुई-तीन हप्तापछि निज प्रतिवादीले मुद्दा हालेको रिसले हामीलाई कुट्न आउनुका साथै कोठाबाहिर ग्यासको सिलिन्डर पड्काई मार्न समेत खोजेका थिए । वरपरका मानिसहरूले थाहा पाई निजलाई सम्झाई बुझाई गरेका थिए । पछि निज प्रतिवादी कुमार थापामगरकी नेपाली सेनामा कार्यरत दिदी अनु थापा आई ईश्वरी भुजेल र कुमार थापामगरलाई सम्झाई बुझाई गर्नुका साथै ईश्वरी भुजेलसँग कुमार थापामगरलाई एक पटकलाई माफी गरी देऊ भनी अनुरोध गरेपछि ईश्वरी भुजेल लगायत हामीले उल्लेखित ग्यास पड्काई मार्न खोजेको विषयमा कहीँ कतै उजुरवाजुर गरेनौँ ।

निज प्रतिवादी उल्लेखित मुद्दामा धरौटीमा छुटेपछि पुनः आमा र बुवाबीच वादविवाद भई प्रहरी कार्यालयमा छलफल गरी हामी घरको माथिल्लो फ्ल्याटमा र निज प्रतिवादी मुनिको फल्याटमा बस्दै आई रहेका थियौँ । पछि आमाले निज प्रतिवादीको नाममा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दिई सो मुद्दा पनि विचाराधीन अवस्थामा छ । छुट्टिएर अलग-अलग बस्दा समेत निज प्रतिवादी कुमार थापामगर घरमा आई काटिदिन्छु, मारिदिन्छु भनी सधैँ धाकधम्की दिने गरेका थिए । कहिले हामीसँग मिल्न खोज्ने त कहिले झगडा गर्ने गरेका थिए । निज छुट्टिएर अलग फ्ल्याटमा बसे पनि घरमा कहिलेकाहीँ आउने गरेका थिए । बेला-बेलामा अदालतमा रहेका मुद्दा हरु मिलापत्र गरौं भनी आमा ईश्वरी भुजेललाई दवाव दिने गरेका थिए ।

मिति २०८३।०२।२२ गते काठमाडौं जिल्ला अदालतमा पेशी भएकाले बिहान ११ बजे तिर म र आमा ईश्वरी अदालतमा गएका थियौँ । हामीले अर्को अषाढ ३ गतेको तारेख लिएका थियौँ । आमा ईश्वरी भुजेल र म अदालतमा पुग्ने बेलामा प्रतिवादी कुमार थापामगरलाई अदालतबाट आफ्नो गाडी चढी निस्केको मैले देखेको थिएँ । त्यसपछि मैले स्कुटरमा आमा ईश्वरी भुजेललाई निजको अफिसमा छाडी याङ्गो राइड गर्न गएँ । राती ८ बजेतिर मलाई मोबाइलमा घरबाट सुहाना भन्ने शोभा तामाङले फोन गरी प्रतिवादी कुमार थापामगर घरमा आई भाइ ईभान थापा मागेको बताइन् । त्यसपछि मैले मेरो मामाको छोरी करुणा भुजेलको मोबाइलबाट निज प्रतिवादी कुमार थापामगरलाई फोन गरी घरमा गएर किन भाइलाई मागेको ? शोभा तामाङलाई किन गाली गरिस् ? भनी भनेको थिएँ । निज प्रतिवादीले मलाई ब्लक लिस्टमा राखेकाले मामाको छोरीको मोबाइलबाट फोन गरेको हुँ । त्यसपछि मैले आमा ईश्वरी भुजेललाई फोन गरी प्रतिवादी कुमार थापामगर घरमा आई धाकधम्की दिएको कुरा जानकारी गराएँ । आमाले पार्टी सकिन लाग्यो, पास लिएर आउँछु, तिमी घर जाऊ भनेपछि म घर गएको थिएँ ।

घर पुगी आमालाई फोन गर्दा शेषमती आइपुगेँ भन्नुभएको थियो । अबेरसम्म पनि आमा नआएपछि मैले आमालाई बाटोमा खोज्दै आएँ । मेरो मोबाइलमा ब्यालेन्स नभएकाले बाटोमा हिँड्ने कुनै मानिसलाई मोबाइल मागी आमालाई फोन गरेँ । चार- पाँच पटक फोन गर्दा मम्मीको फोन नउठेपछि म घरमा गई स्कुटर लिई दाजु सुसान घर्ती मगरलाई निजको कोठाबाट लिई हामीहरू दुबै जना आमा ईश्वरी भुजेललाई खोज्न भनी निस्कियौँ । शेषमती लगायतका वडा एरियामा खोज्न थाल्यौँ । हामी दुवै जना आमालाई फोन गर्दै खोजी गरिरहेकोमा अचानक आमाको फोन कुनै पुरुष मानिसले फोन उठायो । निजले ‘यो मोबाइल फोनवाला महिला पैयुटारस्थित सडकमा रगताम्य भई भुईँमा लडेको अवस्थामा छिन्’ भनेपछि म र दाजु सुसन घर्तीमगर घटनास्थलमा गई हेर्दा आमालाई घाँटीमा काटिएको घाउ भई सख्त घाइते अवस्थामा देखेर उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

तत्काल घटनाक्रम बुझ्दा आमा ईश्वरी भुजेललाई कर्तव्य गरी मारेको हुने सक्ने शंका लागेपछि प्रहरी टोली र हामी प्रतिवादी कुमार थापामगरको खोजतलासका लागि गएका थियौँ । मैले निज प्रतिवादी कुमार थापामगरलाई राति साढे १० बजेतिर पुनः मामाको छोरी करुणा भुजेलको मोबाइलबाट फोन गरी ‘आमालाई तपाईँले मार्नु भएको हो ?’ भनी सोध्दा निजले फोन स्विच अफ गरेका थिए । पछि बुझ्दै जाँदा मिति २०८३।०२।२२ गते राती साढे ९ बजेको समयमा आमा ईश्वरी भुजेल अफिसबाट स्कुटरमा घर फर्किँदै गर्दा घर नजिकै जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं ६ पैयुटारस्थित बाटोमा योजना बनाई बाटो ढुकी बसी धारिलो चक्कु प्रहार गरी क्रूरता पूर्वक बीभत्स हत्या गरेको कुरा थाहा पाउनुका साथै सिसिटिभी फुटेज समेत हेरी घटना बारेमा थाहा पाएको हुँ ।

मिसिल संलग्न सिसिटिभी फुटेजमा देखिएकी स्कुटरमा सवार महिला ईश्वरी भुजेल हुन् भने कारबाट झरी निज ईश्वरी भुजेललाई पछ्याई चक्कु प्रहार गरी भाग्ने मानिस प्रतिवादी कुमार थामामगर हुन् । हेरी चिनी सनाखत गरी दिएँ । यसरी प्रतिवादी नेपाल ब्रो भन्ने कुमार थापामगर र प्रतीक्षा आचार्य बिचको प्रेम सम्बन्धका बारेमा थाहा जानकारी पाएका प्रतिवादीहरू विक्रम थापामगरले प्रतीक्षा आचार्य र कुमार थापामगरलाई बेला बेलामा डान्सबार, डिस्कोमा लैजाने, घरमा श्रीमती ईश्वरी भुजेल हुँदाहुँदै प्रतिवादी प्रतीक्षा आचार्यको प्रेम सम्बन्धमा झन् प्रोत्साहन दिई अर्को विवाह गर्ने गराउने पक्षमा रहेको, जाबो श्रीमतीलाई तह लगाउन सक्दैन भनी उक्साहट दिने, सम्झाई बुझाई गरी सावधानी अपनाई हप्काई दप्काई गर्नु पर्नेमा सो नगरी उल्टै प्रोत्साहन दिई र प्रतिवादी पूजन थापा क्षेत्री समेत प्रतिवादी कुमार थापामगरलाई आफ्नो धनेश्वर अटो मोबाईल्स प्रा. लिमा श्रेय दिने, निज प्रतिवादी कुमार थापामगर र प्रतीक्षा आचार्यलाई भेटघाट गराउने, निजहरुबीच भएको प्रेम सम्बन्धलाई प्रोत्साहन दिई प्रतिवादी कुमार थापामगरलाई योजना बनाई बाटो ढुकी बसी धारिलो हतियार चक्कुले घाँटी रेटी मार्ने सम्मको परिस्थिति सृजना हुने कार्यमा संलग्न भएकाले निजहरूलाई कानुन बमोजिम कारबाही हुनु पर्दछ ।

शंका व्यक्ति झाँक्री भन्ने प्रकाश भुजेलले आमा ईश्वरी भुजेललाई बहिनी भन्नुका साथै मलाई पनि भान्जा भनी बोलाउने गरेका थिए । निज प्रतिवादी कुमार थापामगर निज प्रकाश भुजेलको आश्रममा जाने, उठबस गर्ने, घुमफिर गर्ने भएकाले निज प्रकाश भुजेलका गतिविधि माथि पनि शंका लाग्छ । अन्य प्रस्तुत घटनामा को-को मानिसहरूको के कस्तो संलग्नता छ, छैन सो बारेमा मलाई थाहा भएन । निज प्रतिवादी कुमार थापामगर दुई दिन अगाडी घरमा आई सिसी क्यामराको तार चुँडाली पूर्वयोजना बनाई चक्कुले आमा ईश्वरी भुजेलको घाँटी रेटी कर्तव्य गरी मारेको र संलग्न अन्य मानिसहरूलाई समेत कानुन बमोजिम कारबाही होस भन्ने ब्यहोराको कागज ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्