काठमाडौं । एसईई उत्तीर्ण विद्यार्थीको चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) र स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) मा विद्यालयहरूले चर्को रकम असुलिरहेको पाइएको छ ।
विद्यालयहरूले मनलाग्दी शुल्क लिन थालेपछि अभिभावकहरूले नियामक निकायमा सिकायतसमेत गरिरहेका छन् । केही विद्यालयहरूले ५/६ हजारदेखि ८/१० हजारसम्म रकम लिइरहेको पाइएको छ ।
बानेश्वरको एक निजी विद्यालयले क्यारेक्टरका लागि ५ हजार र ट्रान्सफर सर्टिफिकेटका लागि १६ सय रूपैयाँ लिएर आउन भनेको एक अभिभावकले जानकारी दिए ।
‘सरकार जथाभावी रकम लिन पाइँदैन भन्छ । बोर्डिङहरूले कुनै न कुनै बहानामा खुलेआम नागरिकको ढाड सेकिरहेका छन् । कसले रोक्ने र खोई’, ती अभिभावले आक्रोश पोखे ।
काठमाडौं महानगरपालिका शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेल भट्टराई त्यत्रो मोटो रकम लिन नमिल्ने बताउँछिन् ।
उनले नेपाल प्रेससँग भनिन्, ‘क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटका लागि यति नै रकम भनेर कुनै त्यस्तो मापदण्ड त छैन । तर, सामान्य प्रिन्ट र मसलन्द खर्चबापतको बढीमा १५ सय-२ हजारभन्दा बढी लिन मिल्दैन । ५/६ हजार लिनु गैरकानुनी हो । कहिँकसैले लिएको छ भने हामी कारबाही गर्छौँ ।’
निजी विद्यालयकोको छाता संगठन प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पनि केही विद्यालयहरूले सर्टिफिकेटको नाममा चर्को शुल्क असुलेको गुनासो आइरहेको बताएका छन् । २ हजारभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था भए पनि केही निजी विद्यालयले ८ हजारसम्म शुल्क लिने गरेको पाइएको अधिकारीले बताए ।
त्यसरी मनलाग्दी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही गर्नुपर्ने भन्दै उनले त्यसमा प्याब्सनको साथ रहने बताए ।
उनले भने,‘हामीकहाँ बढी शुल्क लिएको विद्यालयहरूको उजुरी आएको छ । त्यसरी रकम नलिनुस् है भनिरहेका छौँ । तर, रोकिएको छैन । त्यस्ता स्कुललाई कारबाही हुनैपर्छ । त्यस्ता विद्यालयलाई त थुन्नुपर्छ । कसले थुन्ने हो उजुरी गरेर थुन्दा हुन्छ ।’
केही विद्यालयको कारण सबै निजी विद्यालयको बदनाम भएको अधिकारी बताउँछन् ।
हामीले काठमाडौंका केही सरकारी विद्यालयलाई पनि उनीहरूले लिइरहेको शुल्कबारे बुझ्यौँ । सोक्रममा बाफलस्थित ज्ञानोदय माविले जम्मा १५ सय लिने गरेको बतायो ।
ज्ञानोदयका सूचना अधिकारी बद्रीनाथ न्यौपानेले दुवै सर्टिफिकेटको १५ सय लिइरहेको बताए ।
उनले भने, ‘त्यसबाट केही रकम पनिका र विद्यार्थीको बिदाइ कार्यक्रममा खर्च हुन्छ । अरु शुल्क लिँदैनौँ’





