काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा ट्रान्सजेन्डर (यौनिक तथा लैङ्गिक अल्पसंख्यक) यात्रुले यात्रा गर्न पाउने कि नपाउने भन्ने विषयमा बहस सुरु भएको छ।
यससँगै महिलासँग साना बालबालिका, श्रीमान् वा सहाराका लागि आएका पुरुष आफन्त सँगै यात्रा गर्न पाउने–नपाउने विषयमा पनि स्पष्ट मापदण्ड आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तले सामाजिक सञ्जालमार्फत सरकारले यसबारे स्पष्ट कार्यविधि ल्याउनुपर्ने माग गरेका छन्। उनले जन्मका आधारमा पुरुष भए पनि आफूलाई महिला भनेर पहिचान गर्ने ट्रान्सवुमन तथा जन्मका आधारमा महिला भए पनि आफूलाई पुरुष भनेर पहिचान गर्ने ट्रान्सम्यानको यात्रा अधिकारबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन्।
यस विषयमा साझा यातायातका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनका अनुसार ब्लु बस सञ्चालनअघि तयार गरिने कार्यविधिमै यस्ता सबै विषय समेटिनेछ।
अर्यालले ट्रान्सजेन्डर यात्रुको विषयसँगै अन्य व्यवहारिक अवस्थाबारे पनि स्पष्ट नियम आवश्यक रहेको बताए।
“यदि कुनै महिला आफ्नो श्रीमान्सँग यात्रा गरिरहेकी छन् भने के गर्ने? पाँच–सात वर्षको छोरा साथमा भए के गर्ने? वा कुनै वृद्ध आमाले सहाराका लागि छोरा ल्याएकी छन् भने के गर्ने? यस्ता विषय कार्यविधिमै स्पष्ट गरिनेछ,” उनले भने।
उनका अनुसार ट्रान्सजेन्डर यात्रुको हकमा कानुनी रूपमा प्रमाणित परिचयपत्र वा आधिकारिक कागजातलाई आधार बनाउन सकिने विकल्पबारे पनि छलफल भइरहेको छ।
ब्लु बस सेवा नेपाल सरकारको १०० दिने कार्ययोजना अन्तर्गत सञ्चालनमा ल्याउन लागिएको कार्यक्रम हो। अहिले सञ्चालनको मोडालिटी र कार्यविधि तयार गर्ने काम भइरहेको साझा यातायातले जनाएको छ।
सरकारसँग आवश्यक समझदारीपत्र (एमओयू) र बजेटको औपचारिक स्वीकृतिपछि मात्र सेवा सञ्चालन हुनेछ। प्रारम्भिक चर्चा अनुसार साउन १ गतेदेखि सेवा सुरु हुने भनिए पनि प्राविधिक प्रक्रिया अझै पूरा नभएकाले साउन महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
साझा यातायातले कार्यविधि तयार गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहित सरोकारवाला सबै पक्षका सुझावलाई समेटेर व्यवहारिक र समावेशी व्यवस्था बनाइने जनाएको छ।





