बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिमा आउनेमा ढुक्क छौँ : निजी क्षेत्र

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रलाई पुनर्जीवन दिन मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिए अर्थतन्त्रले गति लिन नसक्ने बताएको छ।

आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका हुन्। अर्थतन्त्रलाई पुनर्जीवन दिन मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उनले बताए। उनले बजेटले केही विषय सम्बोधन गरेपनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ।

‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मारेर जान खोजेको स्थितिमा हामी छौँ। अहिले जनता र व्यवसायीले ठूलो अपेक्षा राखेका छन्’, उनले भने, ‘बजेट आयो, बजेटले केही कुरा सम्बोधन गर्न खोजेको छ, बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुन्छ, भन्ने हाम्रो अपेक्षा छ । विगतमा पनि मौद्रिक नीतिले राहत दिएको अवस्था थियो, त्यसकारण मौद्रिक नीतिमा धेरै अपेक्षा छ।’

श्रेष्ठले विगतका मौद्रिक नीतिले व्यवसायीलाई राहत दिएको स्मरण गराउँदै यो पटक पनि उत्पादन, लगानी र रोजगारी प्रवर्धन गर्ने नीति आउनुपर्नेमा जोड दिए। उनले देशमा नै रोजगारी सिर्जनाका लागि उत्पादन बढाउनुपर्ने बताए। रोजगार सिर्जना गर्न नसकेको आरोप राज्य र निजी क्षेत्र दुवैले खेपिरहेको उनको भनाइ छ।

‘रोजगारी खोज्नको लागि विदेश जानुपर्ने स्थिति छ, रोजगारी सिर्जन गर्न नसक्ने आरोप राज्य र हामी उद्योगी व्यवसायी सबैलाई लागेको छ । तर हामीले ८६ प्रतिशत रोजगारी नेपालमा नै दिएका छौँ, यो हाम्रो दाबी हो । यसमा राज्यको योगदान कम छ, यसमा राज्यले गर्नपर्ने काम धेरै छ। यसमा हामी सबैले मिलेर रोजगारी सिर्जना गर्नुपर्छ’, उनले भने।

उनले राज्यले उद्योग र उत्पादनमूलक क्षेत्रमा आवश्यक सहयोग गर्न नसकेको कारण नेपालमा आयात बढिरहेको बताए। नेपालले हाल करिब ७० प्रतिशत वस्तु आयात गरिरहेको दाबी उनले गरे। ३० प्रतिशत मात्रै स्वदेशमै उत्पादन भइरहेको भन्दै उनले अब ७० प्रतिशत वस्तु नेपालमा नै उत्पादन हुनेगरी राज्यले सोच्नुपर्ने बताए।

‘उत्पादनका लागि पनि हामीले विदेशको नै मुख ताक्नुपर्ने स्थिति छ। हामीले ७० प्रतिशत वस्तु विदेशबाट आयात गर्छौं, हामी ३० प्रतिशत यही उत्पादन गर्छौँ। ७० प्रतिशत बाहिरबाट आयात गर्छौँ भनिराख्दा अब ७० प्रतिशत हामी यही उत्पादन गर्नसक्छौँ कि,हामी सक्षम हुने कि भन्ने हिसाबले हेरौँ’, उनले भने, ‘यसको सोच सवभन्दा पहिला राज्यले बनाउनुपर्छ।’

अध्यक्ष श्रेष्ठले उद्योग विस्तार र स्वदेशी उत्पादन वृद्धि गर्न सकेमा अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने दाबी गरे। उनले निजी क्षेत्रलाई सिर्जनशील र नवप्रवर्तनमुखी बन्नुपर्ने चुनौती रहेको स्वीकार गर्दै त्यसका लागि स्थिर नीति, स्पष्ट नियत र लगानीमैत्री वातावरण आवश्यक पर्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी