२१ असार, काठमाडौं । पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत तर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फ नै फर्काइदिएको छ ।
ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय आकर्षणको रूपमा स्थापित हुँदै गरेको नयाँ गन्तव्य हो । यहाँ दर्जनौं होटल तथा रिसोर्टहरु भारतीय पर्यटकलाई लक्षित गर्दै संचालनमा ल्याइएको छ भने सयौं व्यक्तिले स्थानीय स्तरमा नै रोजगारी पाएका छन्।
तर, भन्सार प्रक्रिया पूरा नगरेका भारतीय पर्यटकका सवारीसाधनलाई प्रवेशमा रोक लगाइएपछि ठोरीका होटल व्यवसाय प्रभावित बनेका छन् भने पर्यटकीय गन्तव्य सुनसान छ । जसका कारण पर्यटन, व्यापार तथा स्थानीय जनजीवनमा गम्भीर असर परेको छ।
ठोरीमा अहिले दैनिक दुई सय भन्दा बढी निजी भारतीय सवारीसाधनमा पर्यटकहरु आउने गरेका छन् । भन्सार क्लीयर नगरी आएका सवारीसाधन प्रवेशमा रोक लगाइएको सम्बन्धी सूचना भारततर्फ भिखना ठोरीको एसएसबी क्याम्पमा टाँसिएको छ।
ठोरीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका एक प्रहरी अधिकारीका अनुसार केन्द्रकै आदेशमा भारतीय सवारीसाधनलाई ठोरी प्रवेशमा रोक लगाइएको हो ।
‘माथिको आदेश हो, हामीले आदेश पालना गर्ने हो,’ ती सशस्त्र प्रहरीका अधिकारीले भने।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग जानकारी माग्दा उनले बिनाभन्सार विदेशी सवारीसाधन नेपाल प्रवेश गर्न नपाइने भएकाले कानुनमा उल्लेख भएको विषय कार्यान्वयन गरिएको बताए।
‘कानुनको पालना गराउन भनिएको हो, कानुन नै आदेश हो, नियम अनुसार भन्सार काटेर कानुन मानेर आउन पाइन्छ, कानुन विपरीत गर्न मिल्दैन, कानुनको सबैले पालना गर्नु पर्छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।
उनले सरकारले पछिल्लो समय अनलाइन मार्फत भन्सार प्रवेश शुल्क तिर्न मिल्ने ब्यवस्था मिलाएको भन्दै भन्सार भएर आउने सवारीसाधन नरोकिने पनि जानकारी दिए।
‘अहिले अनलाइन दस्तुर बुझाएर आउने ब्यवस्था छ, अनलाइन दस्तुर बुझाएर, बैंकमा रकम बुझाएर आउन पाइन्छ, कानुन अनुसार हुँदा रोकिंदैन,’ प्रमुख जिल्ला अधिकारी दाहालले अगाडि भने।
स्थानीय होटल तथा पर्यटन व्यवस्थित छतेन्द्र आचार्यले सदियौंदेखि ठोरी नाका हुँदै आवतजावत हुँदै आएकोमा ठोरीमा भारतीय पर्यटकका सवारीसाधन आवागमनमा अवरोध हुँदा पर्यटन क्षेत्र धराशायी बन्ने अवस्था सिर्जना भएको बताए ।
‘ठोरीमा छोटी भन्सार छ, कर्मचारी छैनन् । कर्मचारी राख्ने र नाकालाई ब्यवस्थित बनाउने काम सरकारको हो । भन्सारमा कर्मचारी सरकारले राख्ने होला नि ? नेपाल आउने पर्यटकलाई रोक्दा के सन्देश जान्छ ?’ उनले भने।
ठोरीमा नेपाल सरकारको अमृत छोटी भन्सार कार्यालयको भवन निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छ। सरकारले कर्मचारी ब्यवस्थापन गरेर सेवा संचालन गर्न नसक्दा गत वर्षदेखि भवन उपयोगहीन बनिरहेको छ। गत वर्षदेखि भन्सार कार्यालय बन्द भएपछि भारतीय सवारीसाधनको वैधानिक प्रवेशको व्यवस्था नै ठप्प छ।
ठोरीका अर्का होटल तथा पर्यटन ब्यवसायी धिरसिंह घिमिरेले उदाउँदै गरेको पर्यटकीय गन्तब्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गर्नु अन्याय भएको बताए।
‘अहिले दैनिक आउने दुई सय भन्दा बढी सवारीसाधन भारततर्फ नै रोकिएका छन्, उदाउँदै गरेको पर्यटकीय गन्तब्यलाई सरकारले संरक्षण गर्दै थप सुविधा दिनु पर्नेमा झन अवरोध सिर्जना गरिनु पर्यटकीय दृष्टिकोणले अन्याय हो,’ घिमिरेले भने।
वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ। भारतीय पर्यटक यही नाकाहुँदै नेपाल प्रवेश गरी ठोरीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, वन्यजन्तु, ग्रामीण पर्यटन तथा विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा यातायात व्यवसायलाई चलायमान बनाउँदै आएका छन्।
पर्यटन समिति ठोरीका अध्यक्ष सुदिप थापाले सरकारले भारतीय सवारीसाधनलाई नाकामा रोक लगाउनुकाे साटो आफ्नो संरचना बलियो बनाएर ब्यवस्थित आवागमन सुनिश्चित गर्नु पर्ने बताए।
भन्सार कार्यालय बन्द भएपछि स्थानीय सरकार, राजनीतिक दल, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा नागरिक समाजले पटक–पटक भन्सार पुनस् सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै ठोस पहल हुननसकेको स्थानीय बताउँछन्।





