यातायात कार्यालय प्रमुखबाट सेवाग्राही कुटिएको भिडियो सार्वजनिक, मन्त्रालयको चासो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

यातायात व्यवस्था कार्यालय बारा परिसरमा एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रालयले चासो व्यक्त गरेको छ ।

लाइसेन्स बनाउने कामका लागि आएका एक सेवाग्राहीसँग वादविवाद भएपछि कार्यालय प्रमुख चिन्तन आचार्यसहितका कर्मचारीहरु कुटपिटमा उत्रिएका हुन् ।

कार्यालय प्रमुखको कार्यकक्षभित्रै सेवाग्राही कुटिएको घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । साथै सामाजिक सन्जाल प्रयोगकर्ताले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत गरिरहेका छन् ।

भिडियोमा के छ ?

कोठाभित्र कार्यालय प्रमुख र उनको अघिल्तिर राखिएको सोफामा दुईजना प्रहरी र अर्का एक कर्मचारी बसिरहेका छन् । ढोकामा अर्का कर्मचारी उभिरहेको र एकजना सेवाग्राही कार्ड देखाउँदै कार्यालय प्रमुखसँग संवाद गरिरहेको देखिन्छ । सेवाग्राहीले हातमा रहेको कार्ड कार्यालय प्रमुखलाई हेर्न दिन्छन् ।

केहीबेर संवाद हुन्छ र त्यसक्रममा सोफामा बसेका सेवाग्राहीले मोबाइल खल्तीबाट निकालेर भिडियो खिच्न खोजेजस्तो देखिन्छ । त्यसपछि कार्यालय प्रमुख आक्रामक हुन्छन् ।

त्यतिकैमा ढोकामा रहेका कर्मचारीले सेवाग्राहीलाई जोडले धकेल्छन् । कार्यालय प्रमुख पनि आफ्नो आसनबाट उठेर सेवाग्राहीको गला थिचेको देखिन्छ । त्यसपछि अर्का कर्मचारीले पनि त्यस्तै गरिरहेको देखिन्छ ।

सोफामा बसिरहेका प्रहरी उठेर छुट्टाउन खोज्छन् । फेरि एक कर्मचारी भित्र आउँछन् र छेउमा रहेका अर्का कर्मचारी बाहिर निस्किएको देखिन्छ । एकछिनपछि मोबाइल समेत खोसेर छोड्छन् । त्यसपछि सेवाग्राहीलाई धम्काइरहेको देखिन्छ ।

गत फागुनको भिडियो

प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो सन् २०२६ मार्च १७ (गत फागुन तेस्रो साता) को रहेको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा हुन् ।

आचार्यका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएका थिए । उनले कर्मचारीहरुलाई धाकधम्कीका साथै गालीगलौज गरेपछि उक्त घटना भएको कार्यालय प्रमुख आचार्यले बताए ।

साथै सामाजिक सन्जालमा भाइरल भिडियो पूरा भाग नरहेको र त्यसको सानो क्लिप मात्र काटेर सार्वजनिक गरिएको निमित्त प्रमुख आचार्यको दाबी छ । घटना पश्चात् दुवै पक्ष बसेर मिलापत्र गरिसकेको पनि उनको जिकिर छ ।

मधेश प्रदेशको मन्त्रालयको चासो

यसबारे मधेशको श्रम तथा यातायात मन्त्रालयले पनि चासो व्यक्त गरेको छ । श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भिडियो सामाजिक सञ्जालमा हेरेको र यस विषयमा आज मन्त्रालयमा छलफल हुने बताए ।

‘मैले पनि सामाजिक सञ्जालमै यो भिडियो हिजो देखेँ । आज मन्त्रालयमा यस घटनाबारे छलफल हुन्छ,’ उनले भने ।

निमित्त प्रमुख आचार्य अधिकृत छैटौँ हुन् । तत्कालीन श्रम तथा यातायात मन्त्री मनिष सुमनको पालामा गत पुस महिनामा आचार्य यातायात कार्यालय जनकपुरबाट बारा कार्यालयमा निमित्त प्रमुखको रूपमा सरुवा भएर आएका थिए । बारा कार्यालय प्रमुख रहेका अरबिन्द दास (अधिकृत सातौं)को भने रौतहटको गौर कार्यालयमा सरुवा भएको थियो ।

बाराका निमित्त कार्यालय प्रमुख कनिष्ठ भए पनि उनलाई निमित्त प्रमुखको रूपमा जिम्मेवारी दिइएको थियो । उनी त्यसअघि करिब पाँच वर्ष यातायात व्यवस्था कार्यालय जनकपुरमा बिताएका थिए भने त्यसअघि यातायात व्यवस्था कार्यालय लहानमा जिम्मेवारी सम्हालेका थिए ।

बाराको घटनापछि कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण तथा सार्वजनिक सेवा प्रवाहमा जवाफदेहिताबारे प्रश्न उठेका छन् । सामाजिक सञ्जालमा घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने मागसमेत भइरहेको छ ।

कार्यालय प्रमुखले आफ्नो कार्यकक्षमा सेवाग्राही कुटेको भिडियो सम्बन्धमा थप अनुसन्धानको निष्कर्ष र मन्त्रालयको निर्णय आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी