जनकपुरधाम :व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्।
सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दाबी गरे। उनले त्यही कारण सिंहदरबारको सम्पूर्ण प्रणाली बिग्रिएको आरोप लगाए।
वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईंले आफूहरूले सरकारको कार्यसम्पादनबारे समीक्षा गर्ने तयारी गरिरहेको बताए। उनले छिट्टै सरकारको १०० दिने कार्यसम्पादनको समीक्षा गर्दै भिडियो सार्वजनिक गर्ने जानकारी दिए।
प्रसाईंले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित बनाइरहेको आरोप लगाए। नेपालमा विगतमा कहिल्यै दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएको भन्दै यसले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको दाबी गरे।
उनले सरकारको विदेश नीतिबारे पनि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।
प्रसाईंको मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। साथै उनले जानकी मन्दिरमा पूजाअर्चना गर्ने, नगरमा जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।





