बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।

बिहीबार बिहान ८:०० बजेसम्मको विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा आवागमन प्रभावित भएको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा गत असार १२ गते बाढीका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको थियो, जुन अहिले एकतर्फी रूपमा सुचारु भएको छ र त्यहाँ अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। तर, ईलामको ईलाम नगरपालिका वडा नम्बर ९ राजदुवालीमा असार २३ गतेदेखि अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

यसैगरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ नावाखोलामा आजै असार २५ गते बाढी आएकाले तमोर-कोरिडोर सडक-खण्ड पूर्ण रूपमा अवरोध भएको छ।

बागमती प्रदेशमा पनि बाढी र मर्मत कार्यका कारण सडकहरू बन्द रहेका छन्। काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई सम्भावित बाढीको जोखिमका कारण गत असार २२ गतेदेखि नै बीपी राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ। यो सडक खण्ड मर्मत कार्यका लागि यही महिनाको २५ गतेसम्म बन्द रहने जनाइएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी सडकहरूमा पनि पहिरो र बाढीले अवरोध सिर्जना गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रीब्दीकोट गाउँपालिका वडा नम्बर ३ मालमुलमा हिजो असार २४ गते पहिरो खसेकाले पाल्पा गुल्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

उता कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने आठबिसकोट नगरपालिका वडा नम्बर ६ रिजेगार्डमा गत असार १७ गते बाढी आएका कारण भेरी कोरिडोर पूर्ण रूपमा अवरोध भएको छ। यी सडकहरू अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ भने सडक खुलाउने प्रयासहरू भइरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी