काठमाडौं । नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि आज काठमाडौंमा एक युवाले आत्मदाह प्रयास गरेका छन् । उनको अवस्था चिन्ताजनक छ ।
घटना काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि भएको हो । नगरप्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले बिहान साढे ११ बजेतिर सो कार्यालयको गेट अगाडि मोटरसाइकल पार्किङ गरेका थिए ।
केहीबेरमै नगरप्रहरीको टोलीले मोटरसाइकलमा ह्वीललक लगाइदिएको थियो ।
मोटरसाइकलमा ह्वील लक लगाइदिएकै कारण आक्रोशमा आएर आत्मदाह प्रयास गरेको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा काठमाडौं महानगरका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीससित हामीले कुरा गर्दा उनले ठ्याक्कै यही हो भन्न नसकिने बताए ।
‘त्यति कारण मात्र त नहुनुपर्ने हो । तर, जे भयो त्यसमा हामी एकदमै दुखी छौँ । नगर प्रहरीले कानूनको पालना मात्रै गरेको हो । यस्तो घटना होला भन्ने कल्पनै थिएन,’ उनले भने ।
जोशीका अनुसार ती युवा पासपोर्ट बनाउनका लागि नै राहदानी विभाग पुगेका थिए । उनी नेपाली राइड सेयरिङका चालक रहेको भन्ने सूचना आएको पनि उनले जानकारी दिए । नगर प्रहरीले ह्वील लक लगाइदिएपछि उनले केहीबेर विवाद गरेका थिए । त्यसपछि मोटरसाइकल छोडेर दुई घण्टा हराएको र फर्केर आएपछि अचानक शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको जोशी बताउँछन् ।
घटनाबारे उनको भनाइ यस्तो छ:
हामीले त जथाभाबी पार्किङ गरेर राखेका सवारी साधनमा दैनिक सयौँको संख्यामा ह्विल लक लगाउने गरेका छौँ । हामीले मात्रै लगाउँदैनौँ ट्राफिक प्रहरीले पनि लगाउँछ । कानुनको पालना गर्न, गराउनुपर्यो नै, हैन र ?
कसैले त्यसरी सार्वजनिक आवागमनमा अवरोध हुने गरी फुटपाथमा, सडकमा कसैले सवारी साधन राख्छ भने हामी एक छिन यसो दायाँबायाँ हेरेर सवारी धनी खोज्छौँ । सवारी धनी उपलब्ध नहुँदाखेरि हामी ह्विल लक लगाउने हो । ह्वील लक लगाएको एकछिनपछि उहाँ आउनुभयो । ‘म जरिवाना तिर्दिनँ, तपाईँहरूले जहाँसुकै लैजाने हो लानुस्’ भनेर उहाँले भन्नुभयो ।
यो ११:३० को घटना हो । त्यसपछि उहाँ २ घण्टा कता लाग्नुभयो र लगभग १:३० बजे फेरि आउनुभयो । त्यसबेला बाइक त्यहीँ थियो । ट्राफिक प्रहरी परिसरभित्र नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टिम छ । त्यो टिम मोटरसाइकल उठाउन गइराखेको थियो । उठाउन पुग्ने क्रममा ठ्याक्कै त्यो घटना घट्यो ।
दोस्रो पटक आउँदा उहाँले विवाद गर्नुभएको होइन । यस्तो गर्न लागेको भन्ने छनक पनि दिनुभएन, नत्र त जसरी पनि जोगाइन्थ्यो । मोटरसाइकलबाट तेल निकाली शरीरमा खन्याएर आगो लगाएपछि मात्रै देखेको भन्ने कुरा आएको छ ।
उहाँ हजारौँ खर्च गरेर विदेश जानका लागि पासपोर्ट बनाउन आउनुभएको छ । एक हजार जरिवानाकै लागि त त्यतिसम्म गरेको नहुनुपर्ने हो । अब त्यो छानबिनको क्रमले देखिएला । उहाँ वीर अस्पतालको आइसीयूमा उपचाररत हुनुहुन्छ । दाजुभाइहरू आइसक्नुभएको छ । उहाँको स्वास्थ्यलाभको कामना गर्छु ।





