२५ असार, काठमाडौं । गायिका सुष्मा लोहनी लामो अन्तरालपछि नयाँ गीत ‘मुनालाई’ लिएर नेपाली संगीत क्षेत्रमा फर्किएकी छन्।
गीतमा सुगम संगीतका चर्चित गायक प्रताप दासको स्वर पनि समावेश गरिएको छ।
गीतको भिडियोमा मोडल रायन बस्याल र सजना गुरुङले प्रेम, त्याग, बिछोड र सामाजिक अवरोधको भावनात्मक कथा प्रस्तुत गरेका छन्। मुना–मदनको प्रेमकथाबाट प्रेरित कथावस्तुले कलियुगमा पनि निस्वार्थ प्रेमको झल्को दिने प्रयास गरेको छ।
भिडियोमा रायन र सजनाको प्रेम सम्बन्ध परिवारको विरोधपछि कठिन मोडमा पुग्छ। सामाजिक अवरोध र परिस्थितिका कारण उनीहरूको प्रेम सफल हुन नसक्ने अवस्था सिर्जना हुन्छ, जसले कथालाई भावुक अन्त्यतर्फ लैजान्छ।
गीतको भिडियोको अन्त्यमा दुवै पात्रको आत्महत्याको दृश्य प्रस्तुत गरिएको छ, जुन पूर्ण रूपमा काल्पनिक कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। भिडियोले प्रेममा आउने सामाजिक चुनौती र त्यसले पार्ने मानसिक असरलाई कलात्मक शैलीमा चित्रण गर्ने प्रयास गरेको छ।
सार्वजनिक भएको ‘मुनालाई’ गीतले छोटो समयमै दर्शकको ध्यान खिचिरहेको छ भने रायन बस्याल र सजना गुरुङको अभिनयको पनि प्रशंसा भइरहेको छ।
पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।





