काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा संघीय सरकार स्थानीय सरकारको नियम पालना गर्दा घटना घटेको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानमा कुन दलको सरकार छ ? भनी प्रश्न समेत गरे ।
रोस्ट्रममा निकैबेर भावुक बनेका गृहमन्त्री गुरुङले कसरी सरकार सञ्चालन हुन्छ ? भनेर सभामुखमार्फत विपक्षी दलहरूलाई सिकाए ।
‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भने ।
उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘एउटा, संघीय सरकार, एउटा प्रदेश सरकार र अर्को स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो ।’





