काठमाडौँ । छोराको अधुरो खबर सुन्नासाथ गणेश नेपालीका बुबाआमा मुगुबाट आत्तिएर काठमाडौँ आए । उनीहरू अहिले वीर अस्पतालको जलन वार्डमा छोरा बाँच्ने आश लिएर प्रतिक्षारत छन् ।
गणेशका दाजु मदन नेपालीका अनुसार बुबाआमालाई छोराको मृत्यु भएको सुनाइएको छैन ।
उनले भने, ‘बुबाको पनि स्वास्थ्य कमजोर छ, हिजो गणेश जलेको खबर सुन्नेबित्तिकै बुबा बेहोस हुनुभएछ, त्यसैले मृत्युको कुरा अहिलेसम्म भनेका छैनौँ ।’
गणेशका बुबा बेहा ६२ बर्षका छन् । उमेरले धेरै वृद्ध नभए पनि स्वास्थ्य त्यति राम्रो नभएकाले मृत्युको खबर सुनाउँदा केही हुने हो कि भन्ने चिन्ता मदनलाई छ । गणेशले आफ्नो शरीरमा आगो लगाएर शरीरको धेरै भाग जलेको र आइसीयुमा उपचार भइरहेको भनिए पनि गणेशको शव वीरमा छैन । हिजो राति नै शव वीरबाट निकालेर टिचिङ लगिएको थियो । परिवार भने वीरमै छन् ।
गणेशका बुबाआमालाई सरकारले नै मुगुबाट जहाजमा काठमाडौँ ल्याएको थियो । काठमाडौँका सिडिओ उनीहरूलाई भेट्न वीर अस्पताल पुगेका थिए । अस्पताल व्यवस्थापन र सरकारी पक्षसित दाजु मदनले संवाद गरिरह्का छन् । बुबाआमालाई त्यसमा सामेल गरिएको छैन ।
गणेशका दाजु मदनले शव कहाँ छ भन्ने थाहा नभएको बताए । आफूहरूले शव नबुझेको र सरकारी पक्षसित औपचारिक वार्ता समेत सुरू नभएको उनको भनाइ छ ।





