काठमाडाैँ : काठमाडाैँ का सुकुम्वासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ।१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन्।
मध्यरात करिव १२ः४० बजेबाट सेन्टरमा बाढी पस्न शुरु गरेको थियो।अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् ।
पीडित दलमर्दन कामीले खाजा भनेर एउटा मिठाइ दिने काम मात्रै गरेको आरोप लगाए।आफैँ बसेको स्थानमा जान पनि पीडितहरुलाई नदिइएको गुनासो गरे। बाढीले रातभर सुत्न नदिइएको बताउँदै आफूहरुलाई अब मर्नुको विकल्प नरहेको बताए।
उनले भने, ‘यो खालको बर्बरता कहिलेसम्म ? हामी अब मर्ने बेला भइसक्यो, सेरिने बेला भइसक्यो, हाम फाल्ने बेला भइसक्यो नदीमा।निमोनिय, मिर्गौलाका रोगी आमा, दिदिबहिनीहरु हुनुहुन्छ।आफन्तहरुलाई भेट्न दिइरहेको छैन ।’
स्थानीय पीडित कान्छीमाया घलानकाअनुसार सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि लुगाफाटो र खाद्यान्न जोगाउन समेत मुस्किल भएको थियो।बाढीका कारण धेरैजसोको ओढ्ने–ओछ्याउने र दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा भिजेर नष्ट भएका छन् ।
उनले बाढी पसेपछि छाता र हातमा भएको मोबाइल बाहेक अरु सामान उठाउन नसकेको बताइन्।तीन बजेमात्रै सुरक्षाकर्मीहरु उद्धारका लागि सेन्टरमा आएको उनले बताइन्।
१५ दिनका लागि भनेर आफ्नो घर भत्काएर ल्याएको बताउँदै उनले भनिन्, ‘हामीलाई पनि जिउने इच्छा छ, हाम्रा पनि बालबच्चा छन्, हाम्रो ठाउँमा त्योृ सरकार भइदिएको भए थाहा हुन्थ्यो।सरकारले हाम्रो समस्या बुझेन।हामी कुकुर, बिरोलो होइन।हामी कसैको लालपूर्जा भएको जग्गा मिचेर घर बनाएर बसेका थिएनौँ ।’
अर्की एक पीडितले १५ दिनका लागि भनेर ल्याउने र उचित व्यवस्थापन नगरेको भन्दै सरकारले के गर्न खाजेको भन्दै प्रश्न गरे। सरकारमा भएका मानिसहरु पनि एक दिन मर्नुपर्छ भनेर हेक्का राख्न चेतावनी पनि दिए। सरकारले आफूहरुमाथि अत्याचार गरेको उनको गुनासो छ ।
अर्की एक पीडितले सरकारले यहाँ पानी पस्छ र सुकुम्बासी आफैँ भागेर जान्छन् भन्ने मनशायले ल्याएको आरोप लगाए। सरकारले व्यवस्थापन गरेको भए अहिलेको अवस्था नहुने उनको भनाइ छ।उनी भन्छन्, ‘यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो।सरकारमा भएकाहरु पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का सरकारले राखोस्।हामीलाई ढाँटीढाँटी किन यस्तो गरेको ?’
अर्का पीडित डम्बर तामाङले बाढीले आफ्नो करिब एक लाख बराबरको धनमाल क्षति भएको जानकारी दिए।चप्पल नभएकाले बालबच्चाहरु खालि खुट्टै हिँड्नुपरेको बताए। उनले भने, ‘सामान निकाल्न समेत पाइएन, सबै हिलोले पुरियो।सुरक्षाकर्मीहरू उद्धारका लागि समयमा आइपुगेनन्, हामी आफैँले ज्यान जोगायौँ ।’
सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीहरू समेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।बस्तीका बासिन्दाहरूले सरकारले आफूहरूलाई आश्वासन दिएर अलपत्र पारेको आरोप लगाएका छन् ।
उनीहरूकाअनुसार १५ दिनको लागि भनेर ल्याइएको भएपनि तीन महिनासम्म कुनै ठोस व्यवस्थापन गरिएको छैन।सुरक्षाकर्मीहरूले समेत आफूहरूलाई बाहिर निस्कन अवरोध गरेको र अमानवीय व्यवहार देखाएको उनीहरूको गुनासो छ ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरे। उनले हाल प्रभावितहरूका लागि खाना, सुत्नका लागि डस्ना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको प्रवन्ध भइरहेको बताए।
उनले भने, ‘बाढीले समस्या निम्त्याएको सत्य हो, राज्यले यसको जिम्मेवारी लिनुपर्छ।हामी अहिले तत्कालका लागि आधारभूत आवश्यकता पूर्ति गर्न र दीर्घकालीन व्यवस्थापनका लागि ठाउँ पहिचान गर्न केन्द्रित छौँ ।’
वर्षायाममा सुरक्षित वासस्थानको अभावमा रहेका यी सुकुम्वासी परिवारहरूले तत्काल उचित व्यवस्थापन र क्षतिको क्षतिपूर्ति माग गरेका छन्।सरकारले संवेदनशील भएर समस्या समाधान नगरे स्थिति अझ भयावह हुनसक्ने देखिएको छ।





