गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको विरोधमा बिस्तारै आन्दोलन सुरु हुन थालेको छ । विगतमा दैनिकजसो काठमाडौँको माइतीघरमा हुने गरेका प्रदर्शन शाह प्रधानमन्त्री भएपछि घट्न थालेका थिए ।

०८३ वैशाख १२ देखि सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ र जडीबुटीस्थित मनोहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गर्दा कोही सडकमा निस्किएनन् । यसअघिका दिनहरूमा सुकुमबासी बस्तीमा डोजर पठाउँदा सुरक्षाकर्मी र सुकुमबासीको बिचमा डरलाग्दो ‘मुठभेड’ हुने गरेको थियो ।

त्रिपुरेश्वरमा मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका गणेश नेपालीले मोटरसाइकलको ह्वील लक गरेको विषयमा विवाद हुँदा आफैँलाई आगो लगाए । असार २५ गते आफैँलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो । सो घटनापछि आन्दोलनको स्थायी थलो माइतीघरमा पुनः प्रदर्शन सुरु भएको छ ।

गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको भए पनि निकास निस्केको छैन । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले छलफलको संयोजन गरेका छन् ।

गणेशका परिवार, आफन्त र मुगुबासीहरूले माइतीघरमा लगातार प्रदर्शन गरिरहेका छन् । परिवार र आफन्तलाई संघ–संस्थाहरूले पनि प्रदर्शनमा साथ दिएका छन् । गणेश नेपालीको मृत्युको विषयलाई लिएर जनपक्षीय ट्रेड युनियनको अध्यक्ष कुमार घतानीको नेतृत्वमा ३० जनाभन्दा बढी मानिस भेला भएर शनिबार प्रदर्शन गरे ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार मध्याह्न १ बजेर ३५ मिनेटमा सुरु भएको प्रदर्शन साँझसम्म रोकिएको थिएन ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित सांसद खड्गबहादुर शाहीले संसदमा गणेश नेपालीको घटनाबारे प्रश्न उठाएका थिए । उनले सम्पूर्ण मुगुबासीलाई सो घटनाको विरुद्ध प्रदर्शन गर्न आग्रह गरेका छन् ।

सरकार विरुद्ध सुकुमबासीहरूले पनि आन्दोलनको मोर्चा सुरु गरेका छन् । आइतबार मध्याह्न १२ बजेदेखि संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको सहअध्यक्ष नारायण परियार परिश्रमीको नेतृत्वमा कीर्तिपुर होल्डिङ सेन्टरको विषयलाई लिएर माइतीघरमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा ६० जनाभन्दा बढी प्रदर्शनकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

सुकुमबासीलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पनि शनिबार प्रहरी र जेनजी पुस्ताका युवाहरूको बिचमा धक्कामुक्की भएको थियो । शुक्रबार राति बागमतीको बाढी होल्डिङ सेन्टरमा पसेर सुकुमबासीहरू बिचल्लीमा परेपछि युवाहरू शनिबार कीर्तिपुरमा पुगेर सरकारी व्यवस्थापनमाथि प्रश्न उठाएका थिए । प्रश्न उठाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ रिहा गरेको थियो ।

कीर्तिपुरमा प्रहरीसँग विवाद गरेको आरोपमा माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

पक्राउ गर्ने क्रममा माजिद अन्सारी घाइते भएका थिए । आँखामा चोट देखिएपछि प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्