सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।

मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो । योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए । सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे ।

उनले यो विषय कर्मचारी मात्रै नभएर राजनीतिक स्वार्थको विषय समेत भएकोले सबै विषयको निरूपण अदालतबाट हुनुपर्ने र न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । अर्की सांसद क्रान्तिशिखा धितालले पनि राहदानीको विषयमा छलफल गर्ने उपयुक्त समय नभएको भन्दै विविध विषयमा प्रवेश गर्न माग गरिन् ।

अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए । योसँगै सभापति भरतबहादुर खड्काले छलफलबिनै बैठक स्थगित गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्