देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ।

आज बिहानको मापनलाई आधार मान्दा कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूको अवस्था सामान्य छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव सतर्कता तहभन्दा मुनि नै रहेको महाशाखाले जनाएको छ।

ठुला नदीहरूमा तत्काल ठुलो खतरा नदेखिए पनि विभिन्न जिल्लाका स-साना नदीहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। आज असार ३१ गते पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र उदयपुर भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यस्तै सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ। महाशाखाले लमजुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने स-साना नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ।

आगामी दुई दिनको मौसम र नदीको अवस्थाबारे जानकारी दिँदै महाशाखाले भोलि र पर्सी पनि सतर्कता अपनाउनुपर्ने औँल्याएको छ। भोलि असार ३२ गते देशका सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। यो क्रम साउन १ गते पर्सी पनि जारी रहने देखिएको छ। महाशाखाका अनुसार साउन १ गते पनि सातै प्रदेशका केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना कायमै रहनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी