काठमाडौँ । नेपाली कांग्रेस नेकपा एमालेसँग बिच्किन पुगेको छ । सत्ता सहकार्यबारे कांग्रेस सभापति गगन थापासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि पटक पटक समय मागे पनि ओलीले भेट्नै नचाहे पछि कांग्रेस बिच्किन पुगेको स्रोतको दाबी छ ।
सत्ता सहकार्यबारे छलफल नै हुन नसकेपछि सहकार्यलाई निरन्तरता दिने नसकिने निष्कर्षमा पार्टी पुगेको कांग्रेसका एक नेताले बताए । सोहीअनुसार सुदूरपश्चिम र कर्णालीमा सत्ता सहकार्यमा स्पष्ट रुपमा खटपट देखिइसकेको छ । कर्णालीमा कांग्रेसका ४ मन्त्रीले राजनीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा एमालेका मन्त्रीलाई मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेका छन् । यस्तै बागमतीमा पनि विवाद नै छ ।
यस्तो स्थितिमा कांग्रेसले अब प्रदेश सरकारमा एमालेसँग सहकार्य तोड्ने तयारी गरेको ती नेताको भनाइ छ । त्यसबारे औपचारिक निर्णय नभए पनि सहकार्य तोड्नका लागि अनौपचारिक निर्देशन प्रदेशका दललाई दिइसकेको पदाधिकारी तहका ती नेताले जानकारी दिए ।
‘एमाले नेतृत्व भएको प्रदेशमा हाम्रा साथीहरूले आर्थिक वर्षको बजेट पास गर्न सहयोग गरे; तर हाम्रो नेतृत्व भएकोमा एमालेले सहयोग नगरेपछि गठबन्धन तोड्न बाध्य भयौँ,’ ती पदाधिकारीले भने ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले प्रदेश सरकार फेरबदलबारे अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापतिबिच सिधासिधा कुरा हुने भएकाले आफूलाई यसबारे धेरै कुरा जानकारी नभएको प्रतिक्रिया दिए ।





