अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्‍यो,  इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

इरान । अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै दक्षिणी तटीय क्षेत्र र रणनीतिक बन्दरगाहहरूमा नयाँ चरणको हवाई आक्रमण गरेको छ। त्यसको जवाफमा इरानले आफूले अमेरिकी सैन्य सम्पत्ति रहेको दाबी गर्दै कुवेत र जोर्डनतर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यसले मध्यपूर्वमा युद्ध थप फैलिने जोखिम बढाएको छ।

अमेरिकी सेनाका अनुसार पछिल्लो आक्रमणमा होर्मुज जलडमरू नजिकको बन्दर अब्बास, ग्रेटर तुन्ब टापु लगायतका क्षेत्रलाई निशाना बनाइएको हो। इरानी सञ्चारमाध्यमले केश्म टापु, बन्दर अब्बास, चाबहार, सिरिक, कोनाराक र रास्क क्षेत्रमा विस्फोट भएको पुष्टि गरेका छन्। तेहरान नजिकको पाकदश्त तथा राजधानी क्षेत्रमा पनि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो।

यसैबीच अमेरिकी सेनाले होर्मुज जलडमरू हुँदै इरानी बन्दरगाहतर्फ गइरहेको एक तेल ट्यांकरलाई हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ। साथै इरानतर्फ गइरहेका अन्य दुई जहाजलाई पनि मार्ग परिवर्तन गर्न बाध्य बनाइएको दाबी गरिएको छ।

इरानले अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। कुवेतले चारवटा क्रुज मिसाइल र २१ वटा ड्रोन खसालेको दाबी गरेको छ भने बहराइनमा पनि हवाई हमलाको चेतावनी साइरन बजाइएको थियो। खाडी मुलुकहरूले इरानको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले तेहरान नजिकको पाकदश्त र सैन्य केन्द्र पार्चिन क्षेत्रमा सुनिएका विस्फोटहरू हवाई प्रतिरक्षा कारबाहीका कारण भएको र त्यहाँ कुनै मानवीय क्षति नभएको जनाएको छ। उत्तर–मध्य इरानको सेमनान विमानस्थलका केही भागमा पनि हवाई आक्रमण भएको पुष्टि गरिएको छ, यद्यपि आवासीय क्षेत्रहरू प्रभावित नभएको अधिकारीहरूले बताएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार जारी अमेरिकी आक्रमणमा हालसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

युद्धको बढ्दो विस्तारसँगै कूटनीतिक प्रयास थप जटिल बनेका छन्। कतारस्थित विश्लेषकहरूले अमेरिका लगातार आक्रमण गरिरहँदा र इरानले छिमेकी अरब मुलुकहरूमा रहेका अमेरिकी सम्पत्तिमाथि प्रतिकार जारी राख्दा मध्यस्थकर्ताहरूको भूमिका कठिन बन्दै गएको बताएका छन्।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि कूटनीतिक समाधान सम्भव रहेको बताएका छन्। तर उनले इरानमाथि सैन्य दबाब अझ बढाइने स्पष्ट संकेत दिएका छन्। ट्रम्प प्रशासनले इरानको आणविक हतियार कार्यक्रम रोक्ने र तेहरानमाथि थप दबाब सिर्जना गर्ने नीति कायम रहने जनाएको छ। ट्रम्पले विद्युत् केन्द्र, पुल तथा अन्य पूर्वाधारजस्ता नागरिक संरचनालाई समेत सम्भावित निशानाको रूपमा उल्लेख गरेपछि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुन सक्ने भन्दै आलोचना पनि बढेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी