म्याद सकिएकै दिनदेखि सम्पत्ति छानविनको काम स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३२ असार, काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको छ ।

सर्वोच्च अदालतको आदेशबमोजिम आजदेखि सबै काम स्थगित गरेको आयोगले जनाएको छ । सर्वोच्चले २६ असारको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो ।

सर्वोच्चले सबैको सम्पत्ति विवरण संकलन रोक्न अन्तरिम आदेश दिए पनि पूर्व न्यायाधीश र नेपाली सेनाका पूर्व पदाधिकारीबाहेक भन्ने व्याख्याका आधारमा आयोगले कामकारबाही जारी राखेको थियो । तर, मनिराम उपाध्यायले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अदालतले सबै काम रोक्न आदेश दिएसँगै आयोगले नयाँ निर्णय गरेको हो ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन कार्य नगर्न अदालतबाट अन्तरिम आदेश जारीबमोजिम अर्को सूचना नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन कार्य स्थगित गरिएको आयोगले जनाएको छ ।

‘सर्वोच्च अदालतको मिति २०८३–०३–३१ को आदेशबाट रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिनसमेतको कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भई आएकोले यस आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिनसमेतका सबै काम हाल स्थगित गरिएको जानकारी गराइन्छ’, आयोगको सूचनामा उल्लेख छ ।

यता, सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको आयोगले सम्पत्ति विवरण बुझाउन थपेको म्याद आजदेखि सकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी