काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि एमालेले पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो।
बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्। आफूले मन्त्रीहरूलाई राजीनामा दिनको लागि निर्देशन दिइसकेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
उनले भने, ‘कांग्रेसको निर्णयपछि हामीले उहाँहरूसँग पनि कुरा गर्यौँ। उहाँहरूले सहकार्य तोड्ने कुरा स्वीकार गर्नुभयो। त्यसैले सरकारबाट बाहिरिने निर्णय गरेका हौँ।’
उनले केन्द्रको निर्देशनपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन भनेको समेत बताए। बागमतीमा एमालेको तर्फबाट ६ जना मन्त्री छन्। १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्दै हिजो मुख्यमन्त्री बानियाँले ६ जना मन्त्रीलाई विना विभागीय बनाएको थियो।





