२ साउन, काठमाडौं । मनसुन सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडकमार्गबाट राजधानी आउजाउ गर्ने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेका क्षेत्रलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सबै यात्रुले उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।
जारी विज्ञप्तिमा काठमाडौंको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका सबै प्रवेश नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका धनी, चालक, सहचालक र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
सूचनामा विगतका वर्षमा रातिको समयमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको उल्लेख गर्दै सम्भावित भारी वर्षाका दिनमा सकेसम्म रातिको यात्रा नगर्न र अत्यावश्यक अवस्थामा अत्यधिक सावधानी अपनाउन भनिएको छ।
यात्राअघि सम्बन्धित सडक खण्डको अवस्था यकिन गर्न, बाढी वा पहिरोका कारण सडक अवरुद्ध भए सुरक्षित स्थानमा मात्र रोकिन तथा सडक खुलेको आधिकारिक जानकारी पाएपछि मात्रै यात्रा अघि बढाउन प्रशासनले आग्रह गरेको छ।
आपतकालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलका १००, १०३, १११४ र ११४४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।





