काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिल्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन्।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने तर्क गरेका हुन्।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको भन्दै जनताको म्याण्डेट भन्दा फरक कुरा स्वीकार गर्न नसक्ने स्पष्ट पारे। उनले नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे।
सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उहाँको तर्क छ । ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। विगतका गल्ती दोहोर्याउँदैनौँ । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रश्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ’, उनले भने, ‘तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउनु हो। सरकारमा सहभागी हुनु मात्र काँग्रेसको उद्देश्य होइन । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ।’
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए।





