पासपोर्ट ठेक्कामा सरकारले अख्तियारलाई तर्साएर पंगु बनायो : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्कामा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर पंगु बनाएको आरोप लगाएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै विगतका सरकारले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको भएकाले सरकारले तर्साएर निष्क्रिय बनाउने प्रयास गरेको दाबी गरे ।

उनले भने, ‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार दुवै अवस्थामा प्रभावकारी हुन सक्दैन । तर, किन अख्तियार पंगु भयो त ? पछिल्लो समयमा पासपोर्टको काण्डमा सुनिराख्नुभएको छ । योभन्दा पहिलाको सरकारहरूले आफ्नो मान्छे बनाएर अख्तियारलाई पंगु बनायो, अहिलेको सरकारले अख्तियारलाई तर्साएर पंगु बनाउने भयो । हामीले स्वतन्त्र संवैधानिक एउटा अङ्ग खोजेको हो ।’

उनले भ्रष्टाचारका फाइल खोल्नेभन्दा पनि कुनै पनि सरकारले फाइल बन्द गर्न नसक्ने प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र प्रभावकारी संवैधानिक निकाय बन्नुपर्ने भन्दै त्यसका लागि नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको बताए।

संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष र विश्वासयोग्य बनाउन संविधान संशोधनबारे छलफल गर्नुपर्ने भन्दै थापाले विगतमा संवैधानिक निकायहरूमा भागबन्डा भएको अनुभव रहेको र अहिले पनि कार्यपालिका प्रभाव बढ्ने जोखिम देखिएको भन्दै सुशासनका दृष्टिले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताए।

लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नसकिने बताए । आफू विगतमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको पक्षमा रहे पनि त्यसमा कार्यपालिका र संसद् फरक दलको नियन्त्रणमा हुँदा कानुन र बजेट पारित हुन नसक्ने जस्ता चुनौती देखिने भएकाले सबै पक्षको गम्भीर अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, विशेषगरी आवासको हक र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने पनि जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी