च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् ।

भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका महिलाहरूले बताए अनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएको थारूले जानकारी दिए ।

परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।

उनीहरू आइतबार बिहान ११ बजे च्याउन खोज्न जंगल पसेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि उनीहरू केहीबेर अघि मात्रै परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको बताए

आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।

उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ ।

निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी