सत्ता समीकरणबारे निर्णायक संवादमा प्रचण्ड- बिहान माधवसँग छलफल, साँझ ओलीलाई भेट्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

४ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन्।

केही दिनदेखि अस्वस्थ रहेका नेपाललाई प्रचण्डले भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै नयाँ सत्ता समीकरणबारे पनि छलफल गरेका हुन् । बिहान करिब ९ बजे प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए।

दुवै नेताबीच समग्र राजनीतिक अवस्था, सरकारले गरिरहेका गतिविधि तथा प्रदेशस्तरमा फेरिएको समीकरणबारे छलफल भएको नेकपा उच्च स्रोतले बतायो ।

श्रीलंकाबाट हिजो फर्किएका प्रचण्ड हिजैदेखि नयाँ सत्ता समीकरण तथा आगामी राजनीतिक योजनाबारे तीव्र छलफलमा जुटेका थिए। प्रचण्ड श्रीलंकामा रहँदा माधवकुमार नेपालले नेकपाका नेता वर्षमान पुन र प्रमेश हमाललाई नयाँ समीकरणबारे संवाद गर्ने जिम्मेवारी दिएका थिए।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए। तर, कांग्रेस सभापति गगन थापासँग भने त्यस्तो छलफल हुन सकेन। प्रचण्ड फर्किएलगत्तै पुन र हमालले भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए। आज बिहान सहसंयोजकलाई भेटेपछि प्रचण्डले अन्य नेताहरूसँग पनि छलफल गरेका थिए।

प्रचण्डले आज माधव नेपालपछि प्रमेश हमाल, वर्षमान पुन, बेदुराम भुसाललगायत नेताहरूसँग पनि गठबन्धनबारे टुंगो लगाउनुपर्ने विषयमा छलफल गरेका थिए। उनीहरूसँगको भेट तथा समीकरणबारेको छलफलपछि पार्टीका अन्य नेताहरूलाई पनि यस विषयमा जानकारी गराएका थिए।

नेकपा स्रोतका अनुसार अहिले संयोजक र सहसंयोजक दुवै एमालेसँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन्। पार्टीका अधिकांश नेता–कार्यकर्ताले स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि एक भएर जाने गरी वातावरण सिर्जना गर्न नेतृत्वलाई दबाब दिइरहेका छन्।

आफ्ना शीर्ष नेताहरूबाट सकारात्मक प्रतिक्रिया पाएसँगै आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने तयारीमा उनी पुगेका छन् ।

‘संयोजक कमरेडले सहसंयोजक कमरेडलाई घरमै पुगेर भेटेर सबै विषयमा कुराकानी गर्नुभएको छ। आज एमाले अध्यक्षलाई पनि भेटेर निर्णायक कुरा गर्ने उहाँको तयारी छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘छिट्टै सबै विषयको टुंगो लाग्छ। ’

नेकपा र नेकपा एमाले दुवै प्रदेशमा तीनदलीय गठबन्धन बनाउन तयार अवस्थामा थिए। तर, कांग्रेसले दुईदलीय अडान नछोडेपछि कांग्रेससँगको संवाद विस्तारै पातलिँदै गएको थियो।

एमाले-कांग्रेस गठबन्धन अघोषित रूपमा टुटिसकेको अवस्थामा एमाले र नेकपाका अधिकांश नेता–कार्यकर्ताहरू दुई दलबीच गठबन्धन बनाउने वातावरण सिर्जना गर्न लागेका छन् ।

अधिकांश नेता–कार्यकर्ताको दबाब र कम्युनिष्ट आन्दोलन जोगाउने लक्ष्यसहित अहिले नेकपा र एमाले गठबन्धन नजिक पुगेको शीर्ष नेताहरूको दाबी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी