राष्ट्रियता ३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले देशको राष्ट्रियता अहिले वि.सं. २०३३ सालको भन्दा सयौँ गुणा बढी खतरामा रहेको बताएका छन् । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसभित्रको एकता अपरिहार्य रहेकोमा जोड दिए ।

खड्काले बीपी कोइराला र गणेशमान सिंह २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कँदाको बखतको तुलनामा अहिलेको परिस्थिति झन् भयावह भएको विश्लेषण गरे । उनले भने, ‘बीपी र गणेशमानजी जुन बेला राष्ट्रियता खतरामा पर्‍यो भनेर नेपाल फर्कनुभएको थियो, अहिलेको अवस्था त्योभन्दा सयौँ गुणा बढी खराब छ । राष्ट्रियता अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।’

नेता खड्काले कांग्रेस बलियो नभएसम्म देशमा अराजकता बढ्ने र उपलब्धिहरू गुम्ने खतरा रहने औँल्याए । उनले पार्टीभित्रको आन्तरिक कलह र विग्रहले राष्ट्रिय सङ्कट समाधानमा बाधा पुर्‍याएको बताए । विशेष महाधिवेशन र १४औँ महाधिवेशनका कार्यसमितिहरूलाई समायोजन गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको माग थियो ।

पार्टी नेतृत्वप्रति लक्षित गर्दै उनले भने, ‘सभापतिले आफ्नो कार्यकालको अन्तिम समयमा आएर बीपीको विचार र प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको कुरा गर्नु पश्चगमन हो । हामी प्रजातान्त्रिक समाजवादलाई छाड्न सक्दैनौँ ।’ उनले पार्टीभित्र हुकुमी शासन चलिरहेको र विधि विधान मिचिएको आरोप समेत लगाए ।

संसद्को वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संसद् नै ‘डिफङ्क्ट’ (निष्प्रभावी) भएको र सरकार फेसबुकको स्ट्याटसबाट चलिरहेको टिप्पणी गरे । ‘संसद् छ कि छैन सांसदहरूलाई नै थाहा छैन । के हुँदैछ भन्ने कसैलाई जानकारी छैन,’ खड्काले भने ।

पार्टीलाई पुनर्जीवन दिन र राष्ट्रिय सङ्कट टार्न साउन महिनाको अन्त्यमा काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिने उनले जानकारी दिए । उनले पार्टी नेतृत्वलाई व्यक्तिवादी चरित्र र स्वार्थीपन त्यागेर बृहत्तर हितका लागि संवाद र सहमतिमा आउन आग्रह गरे । एकता नभए नयाँ कार्यदिशा तय गर्न बाध्य हुने चेतावनी समेत उनले दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्