काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिको प्रक्रिया पूरा नभएको भन्दै त्यसको प्रतिवादका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।
४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका बताएका हुन् ।
प्रचण्डले त्यस्तो कार्यक्रम बनाएर ५/७ लाख मानिस काठमाडौँमा उतार्ने र सबै जिल्लामा एक/डेढ लाख मानिस उतार्न सके एकै दिनमा आन्दोलन सफल हुनसक्ने समेत बताए ।
‘हामी सबैले त्यतातिर सोच्नुपर्छ नत्र बर्वाद हुन्छ’, प्रचण्डले फेरि पहिलाजस्तै सरकार बनाउने खेलमा लागेमा अर्को प्रतिक्रान्तिका क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन सक्छौँ, ‘उनले भने ।
उनले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि साझा कार्यक्रम बनाएर अघि बढ्नु अहिलेको अवस्था भन्दै अहिले पार्टी एकताका लागि टाउको दुखाउन नहुने समेत बताए ।
‘अहिले एउटै पार्टी बनाउन थालियो भने झगडा सुरु भइहाल्छ हाम्रो’, उनले भने, ‘समीक्षा नगरी पार्टी एकता गरेर फुर्सदमा पछुताउनु हुँदैन तर सहकार्य आजै गर्न सम्भव छ ।’





