हेटौँडा । हेटौँडा बसपार्कस्ति बास्तोला होटलमा बसेर ६ महिनादेखि तीन भारतीय नागरिकले अनलाइनमार्फत ठगी गरिरहेको खुलासा भएको छ । प्रहरीले होटलका सञ्चालकसहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो ।
प्रहरीले भारतीय नागरिकहरु बिहार, पटनाका २७ वर्षीय ईन्द्रजीत सरकार, २० वर्षीय सहर्षजीत सरकार, २३ वर्षीय अमन राजलाई पक्राउ गरेको छ । यस्तै, हेटौँडा–१० बसपार्कमा सञ्चालनमा रहेको बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पनि मिलेमतो देखिएको भन्दै नियन्त्रणमा लिएको छ ।
उनीहरुले भारतीय नागरिकहरुलाई बिभिन्न प्रलोभन देखाइएर अनलाइनबाट ठगी गरिरहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए । ‘होटलमा बसेर ठगी गरिरहेको पाइएको छ,’ उनले भने, ‘होटल सञ्चालकसमेत कारबाहीको दायरामा ल्याएका छौँ ।’
उनीहरुले प्रयोग गर्ने मोबाइल डिभाइसमा टेलिग्राम, ह्वाट्सएप लगायतका एप्समार्फत रकमको कारोबार भएको देखिएको छ ।
प्रहरीले ठगीमा परेकाहरुबाट उजुरी संकलनका लागि अनुरोध गरेको छ । उनीहरुबाट ठगिएकाहरुलाई उजुरी गर्न आह्वान गरिएको छ ।




