आन्दोलनले भत्काएका शालिक फेरि उभिए, राजा वीरेन्द्रदेखि वीपीसम्मका ६ शालिक पुनःस्थापना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

९ साउन, काठमाडौं । लामो समयदेखि बाँकेको नेपालगन्ज शहरमा मुकुर्टाजस्तै क्षतिग्रस्त शालिक हरू पुनः निमार्ण गरिएको छ ।

विभिन्न राजनीतिक आन्दोलनमा प्रदर्शनकारीले त्यहाँको शालिकहरू भत्काएर मुकुर्टाजस्तै बनेका थिए ।

०६२/६३ को जनआन्दोलनका बेला धम्बोजीचोकमा रहेको पूर्वराजा बीरेन्द्रको शालिक भत्काइदिएपछि राजावादी र दलहरूबीच लामो समय विवाद भएको थियो । पछिल्लो पटक जेनजी आनदोलनमा वीपी पुष्पलालका शालिक भत्काएको थियो । अहिले सबै शालिकको यथास्थानमा पुनःस्थापित गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नगरका विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा राष्ट्रिय व्यक्तित्वका छ वटा शालिक पुनःनिर्माण तथा मर्मतपछि एकैदिन अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले आयोजित कार्यक्रममा ती शालिकको अनावरण गर्दै सार्वजनिक सम्पदा संरक्षण र इतिहासप्रति सम्मान व्यक्त गर्ने अभियानका रूपमा यो कार्य सम्पन्न गरिएको बताए ।

अनावरण गरिएका शालिकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइराला, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता स्वर्गीय गणेशमान सिंह, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह तथा २०६२/६३ को जनआन्दोलनकी सहिद सेतु विक रहेका छन् ।

नगर प्रमुख विष्टले इतिहासका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वको योगदान नयाँ पुस्तासम्म पुर्‍याउनु स्थानीय सरकारको दायित्व भएको बताए ।

सार्वजनिक सम्पदाको संरक्षणसँगै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले क्षतिग्रस्त शालिक पुनःनिर्माण गरी यथास्थानमा स्थापना गरिएको उनको भनाइ थियो ।

उपमहानगरपालिकाका अनुसार संविधान जारी हुँदा प्रधानमन्त्री रहेका स्वर्गीय सुशील कोइरालाको अर्धकदको नयाँ शालिक ट्राफिक चोक नजिकको उद्यानमा स्थापना गरिएको छ । गणेशमान चोकमा रहेको स्वर्गीय गणेशमान सिंहको पूर्णकदको शालिक मर्मत गरी पुनःस्थापना गरिएको हो ।

त्यस्तै इदगाहा चोकमा रहेको वीपी कोइरालाको पूर्णकदको शालिक नयाँ स्वरूपमा पुनःनिर्माण गरिएको छ भने धम्बोझी चोकस्थित पूर्वराजा वीरेन्द्रको पूर्णकदको शालिक पनि पुनःनिर्माण गरी स्थापना गरिएको छ । पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको शालिक पनि नयाँ रूपमा निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

न्युरोडस्थित सहिद सेतु विकको अर्धकदको शालिकसमेत पुनःनिर्माण गरिएको छ । २०६२र६३ को जनआन्दोलनका क्रममा सोही क्षेत्रमा सहादत प्राप्त गरेकी सेतु विकको सम्झनामा स्थापना गरिएको उक्त शालिक आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको छ । गणेशमान सिंहको शालिक मर्मत गरिएको भए पनि अन्य सबै शालिक नयाँ निर्माण गरिएका हुन् । शालिक स्थापना भएका चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको उनले जानकारी दिए ।

उपमहानगरपालिकाका अनुसार सुशील कोइरालाको शालिक नयाँ निर्माण गरिएको हो भने राजा वीरेन्द्रको शालिक २०६२र६३ को जनआन्दोलनका क्रममा भत्काइएको थियो । वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु विकका शालिक भने पछिल्लो ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोडपछि पुनःनिर्माण तथा मर्मत गरिएको हो ।

नगर प्रमुख विष्टले राजनीतिक परिवर्तन वा आन्दोलनका नाममा सार्वजनिक सम्पदा नष्ट गर्नु उचित नहुने उल्लेख गर्दै इतिहाससँग जोडिएका सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए ।

उनका अनुसार विभिन्न विचार, राजनीतिक पृष्ठभूमि र इतिहास बोकेका व्यक्तित्वको सम्मान गर्नु लोकतान्त्रिक संस्कृतिको आधार हो । त्यसैले विगतमा क्षतिग्रस्त बनेका शालिकलाई पुनःस्थापना गरी नगरको ऐतिहासिक पहिचान जोगाउने प्रयास गरिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी