नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक कमजोरी स्वीकार्दै पार्टीमा अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन् । केही समयअघिसम्म नेतृत्वको रक्षामा खरोरूपमा उत्रिने गरेका पोखरेलले आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आत्मालोचना गरे ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठनको आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन । पार्टी जीवनमा सवैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा छ’, पोखरेलले भने ।
उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणमा जोड दिए ।
‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेशिएका श्रमजीवि वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे’ महासचिव पोखरेलले भने ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँगाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको वृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताए । सामाजिक सञ्जालबाट गलत भास्य बनाइएका कारण एमालेले गरेका राम्रा कामको पनि नकारात्मक प्रचारमात्र बढेको उनको जिकिर थियो ।
‘एउटा समय हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुमुबासी हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिशन ग्रासरूट चलायौँ र सफल भयो । तर युवालाई जे गर्ने भनेका थियौँ, त्यो भएन । हामी असफल भयौँ’, उनले थपे, ‘युवा केन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएन । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो ।’
समस्या के हो ? जनताको मनोभावना किन वुझिएन ? र प्रतिस्पर्धा कोसँग कसरी गर्ने भन्ने विषयमा कमजोरी भएको पोखरेलले स्वीकारे ।
‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौँ तर वर्ग संघर्षलाई हामीले वुझ्न सकेनौँ, सीडीओ र राम्रो हाकिम खोज्दै हिड्यौँ । हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौँ । यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौँ, जनतामुखी भएनौँ’ उनले भने ।
कांग्रेसले नचाहेकाले प्रदेशमा नेकपासँग गठबन्धन बाध्यताको परिणाम भएको उनको प्रष्टीकरण छ । आफूहरू कांग्रेससँगै मिल्ने पक्षमा भएपनि कांग्रेसकै आन्तरिक असहमितले त्यो हुन नसकेको पोखरेलले जिकिर गरे ।
महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्याउन कांयर्कतालाई निर्देशन दिए ।
एमाले सुधार्न महासचिव पोखरेलले दिएका सूत्र यस्ता छन्-
– अब हरेक कमिटीले आफैँ निर्णय गर्नुपर्छ । माथिबाट लाद्ने कुरा हुँदैन । स्थानीय चुनावमा उम्मेदवार आफैँ छनौट गर्नुस्।
– तपाईँहरूले माथि ताक्ने हैन, आफैँ सृजनात्मक जनताको मन र विश्वास जितेर काम गर्ने गर्नुहोस् ।
– जनताका असन्तुष्टि पत्ता लगाउनु होस्, उहाँहरूसँग रहनुहोस् र समाधानमा लाग्नुहोस् ।
– सूचना प्रविधि अबको राजनीतिको मुख्य आधार हो । यसको प्रभावकारी र सही उपयोगका लागि व्याक युवा परिचालन गर्नुहोस् ।
– सामाजिक सञ्जालमा ४० वर्ष कमका ७० वर्षका छन् तर पार्टीमा ७० प्रतिशत ४० वर्ष माथिका छन् । युवा सहभागितामा जोड दिनुहोस् ।
आजको बैठकले प्रदेश कमिटीमा २१ जना मनोनयन गरेको छ । जसमा रूपन्देहीबाट पम्फावती खनाल, चिनबहादुर गुरूङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हीरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहनबहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हीरा एसी र श्रीकृष्ण भुषाल, अर्घाखाँचीबाट जीवनारायण कोइराला, बाँकेबाट दिपक निरौला, प्यूठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने छन् ।
कार्यक्रममा लुम्बिनी इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
बैठकमा प्रस्तावका रुपमा आएका अन्तरपार्टी निर्देशन, जिल्लाको रिपोर्टिङ, मिशन पार्टी जागरण अभियानको शुभारम्भ, सदस्यता नविकरण, सदस्य मनोनयन र सचिवालय विस्तार, ज़िम्मेवारी विभाजन, मातहत कमिटीको वैठकलगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।





