काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको दोस्रो बैठक महाधिवेशनको समीक्षामै केन्द्रित भएपछि लम्बिने भएको छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिलो सुरु भएको थियो। बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेको नेता गणेश पराजुलीले जानकारी दिए।
उनका अनुसार अपराह्न ४ः२५ बजेसम्म करिब आधा केन्द्रीय सदस्यले मात्रै आफ्नो धारणा राखिसकेका छन्।
‘सभापतिले अहिलेसम्म कुनै ब्रिफिङ गर्नुभएको छैन। अहिले महाधिवेशनको समीक्षामै केन्द्रीय सदस्यहरूले धारणा राखिरहनुभएको छ। त्यसैले बैठक अझै लम्बिने देखिन्छ। बाँकी कार्यसूचीमा प्रवेश नै भएको छैन,’ पराजुलीले भने।
बैठकका पाँच कार्यसूची रहेका छन्। तीमध्ये सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सङ्गठन व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषय समावेश छन्।
बैठक सुरु हुनुअघि पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्य सस्मित पोखरेल, गीता चौधरी, निशा मेहता, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र बिनिता कठायतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।





