राष्ट्रिय भेलाबाट विभाजनको रेखा कोर्दै देउवा समूह, बनायो विधान मस्यौदासहित १६ समिति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। सभापति गगन थापासहित पार्टी नेतृत्व तहबाट एकताको प्रयास नभएको भन्दै पूर्वसभापति शेरबहादुर समूहले अलग बाटोमा हिँड्ने गरी गृहकार्य अघि बढाएको हो।

देउवा समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला राखेको छ। भेलाको तयारीबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी थिए।

इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। भेला सम्पन्न गर्नको लागि १६ वटा तयारी समिति गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी गराए। भेलामा राजनीतिक, समसामयिक राजनीतिक, सांगठानिक, विधान मस्यौदालगायतको समिति बनाएको छ।

चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाएर सबै समितिहरूको संयोजक र सदस्य तोक्ने उनले बताए। संस्थापन इतर पक्षले पार्टी नेतृत्वले एकताको पहल नगरेपछि राष्ट्रिय भेला गर्न बाध्य भएको नेता शशांक कोइरालाले बताए। पार्टी एकताको आफूहरूले अनवरत प्रयास गर्दा पनि असफल भएको उनको भनाइ छ।

भेला आयोजक समितिका संयोजक समेत रहेका नेता कोइरालाले भने, ‘पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दागर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न हामी बाध्य भएका छौँ।’

पार्टीभित्रको वर्तमान अवस्था मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएका हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं सङ्गठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्यदिशासहित भेलाले तय गर्ने उनको भनाइ छ।

यो भेलापछि देउवा समूह औपचारिक रूपमै नयाँ पार्टी गठनको गृहकार्यमा अघि बढ्नेछ। कोइराला परिवारको लिगेसी तान्नको लागि भएपनि यो समूहले शशाङ्कलाई नै पार्टीको नेतृत्व अघि सार्ने सम्भावना रहेको एक नेताले बताए।

त्यसो त कोइराला परिवारका अर्का नेता शेखर कोइरालाले पनि यो अभियानमा साथ दिएको शशाङ्कले दाबी गरे।

उनले भने, ‘शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। व्यस्त भएको कारणले उहाँले भन्नुभयो, मेरो सहमति त छँदै छ, म के भन्छन् न्युजमा पनि भन्दिन्छु मेरो सहमति छ, म आउन सकिनँ भनेर क्षमा माग्नुभएको छ।’

संस्थापन पक्षले भने देउवा समूहले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै विधानभन्दा बाहिरको माग अघि सारेपछि सहमतिको सम्भावना कमजोर भएको निष्कर्ष निकालेको छ। गगन नेतृत्वको कार्यसमितिलाई सर्वोच्चले दिएको मान्यताविरुद्ध यो समूह फेरि अदालत नै गएपछि संस्थापन पक्ष थप चिढिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी