जेनजी आन्दोलनमा ऐतिहासिक दस्तावेज र बहुमूल्य पुस्तक जले, हिंसाको संस्कृति त्याग्न माधव नेपालको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा ऐतिहासिक दस्तावेज, सरकारी भवन, विभिन्न नेताका घर तथा बहुमूल्य पुस्तकहरूमा भएको आगजनीले मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा गम्भीर क्षति पुगेको बताएका छन्।

तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका घटनाले विभिन्न संस्थासमेत प्रभावित भएको बताए।

उनका अनुसार आगजनीका कारण नेकपा एमालेको पुस्तकालय र त्यहाँ रहेका अत्यन्तै बहुमूल्य पुस्तकहरू समेत नष्ट भएका थिए।

उनले भने, “जेनजी आन्दोलनमा निकै महत्वपूर्ण दस्तावेजहरू जलाइए, विभिन्न नेताहरूका घरहरू जलाइए, सरकारका विभिन्न भवनहरू जलाइए। यसरी विनाशलीला नै रचाउने काम भयो। यसको असर यो प्रतिष्ठानले पनि भोग्नुपर्‍यो। सबैभन्दा दुःखद कुरा भनेको प्रतिष्ठानसँग रहेको सामग्री नष्ट हुनु हो। त्यसपछि नेकपा एमालेसँग भएको पुस्तकालय र त्यहाँ रहेका अत्यन्तै बहुमूल्य पुस्तकहरू पनि सबै जलाइए।”

माधव नेपालले मुलुकको राजनीति र इतिहास निर्माणमा योगदान पुर्‍याएका अग्रज व्यक्तित्वप्रति सम्मानको भावना विकास गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्ताले इतिहास र त्यसका योगदानकर्तालाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद भएको उनको भनाइ थियो।

उनले भने, “मुलुकको राजनीतिमा र इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, हाम्रो आजको सान र मानलाई अगाडि बढाउने ती योद्धाहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ। जुन देशमा नयाँ पुस्ताले पुरानो पुस्ताको सम्मान गर्न सक्दैनन्, इतिहासमा योगदान दिने व्यक्तित्वलाई चिन्न र कदर गर्न सक्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरू हुन सक्दैन।”

समाजमा बढ्दो हिंसा, आगजनी र तोडफोडप्रति चिन्ता व्यक्त गर्दै उनले अरूको घर, सम्पत्ति र परिवारमाथि हुने हिंसालाई आफ्नै परिवारसँग जोडेर सोच्न आग्रह गरे।

उनले भने, “हामीले कस्तो पुस्ता जन्माएका छौं ? कस्तो संस्कार र संस्कृति दिएका छौं ? यो हामी सबैले आत्ममन्थन गर्नुपर्ने विषय हो। अरूको घर जलाउनेले आफ्नै घर जलेको भए के हुन्थ्यो भनेर सोच्नुपर्छ। अरूको परिवारमाथि भएको हिंसा आफ्नै परिवारमाथि भएको भए कस्तो पीडा हुन्थ्यो भन्ने अनुभूति गर्न सक्नुपर्छ।”

उनले सबैलाई आत्ममन्थन गर्दै सही–गलत कार्यको समीक्षा गर्न र हिंसा तथा विनाशको संस्कृतिबाट टाढा रहन आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्