कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान परिस्थितिमा आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट गरेका छन्। नेकपा एमालेभित्र उनलाई पद छाड्न दबाब बढिरहेका बेला कार्कीले पार्टीको औपचारिक निर्णयबिना राजीनामा नदिने अडान दोहोर्याएका हुन्।
सोमबार बसेको एमाले पार्टी र संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले पार्टी र संसदीय दललाई एकताबद्ध बनाउँदै राजनीतिक गाँठो फुकाउन आफू नै उपयुक्त नेतृत्व भएको दाबी गरे।
‘नेकपा एमाले अहिले जुन राष्ट्रिय राजनीतिक परिस्थितिमा छ, त्यसलाई हेर्दा प्रदेशसभाभित्र म नै उपयुक्त पात्र हुँ भन्ने मेरो विश्वास छ,’ उनले भने।
उनले पार्टी अध्यक्षसँग आगामी प्रक्रियाबारे छलफल भएको जानकारी दिँदै विधि र प्रक्रियाअनुसार नै अघि बढ्ने बताए।
‘अध्यक्षज्यूले कसरी अगाडि बढ्ने भन्नेबारे सोध्नुभएको छ। मैले विधि र केही व्यक्तिसम्बन्धी आफ्ना धारणा स्पष्ट रूपमा राखेको छु,’ कार्कीले भने।
एमाले संसदीय दलभित्र भने उनलाई नेतृत्वबाट हटाउन हस्ताक्षर सङ्कलन भइरहेको छ। त्यसबारे प्रतिक्रिया दिँदै कार्कीले आफ्नो सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएकाले आफू केवल संसदीय दलको नेता भएर मुख्यमन्त्री नभएको जिकिर गरे।
‘म संसदीय दलको नेता भएकै कारण मुख्यमन्त्री बनेको होइन। ६५ भन्दा बढी प्रदेशसभा सदस्यको विश्वासको मत पाएर सरकार बनेको हो। यो उपधारा (५) अन्तर्गतको सरकार हो र आफ्नै प्रक्रियाअनुसार अगाडि बढ्छ,’ उनले भने।





