‘नौमती तथा सारङ्गी रागी उत्सव–२०८३’ भव्य रूपमा सम्पन्न (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१९ साउन, काठमाडौं । नेपाली लोकसंस्कृति, मौलिक वाद्यवादन तथा रैथाने रागको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित आयोजित ‘नौमती तथा सारङ्गी रागी उत्सव–२०८३’ काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको मेगा हलमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको सांस्कृतिक संस्थानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार प्रमुख अतिथि तथा संस्थानका महाप्रबन्धक किरण बाबु पुन सभाध्यक्ष रहेका थिए। कार्यक्रममा दलित आयोगका पदाधिकारी, वरिष्ठ लोक तथा शास्त्रीय संगीतकर्मी, विभिन्न सांस्कृतिक संस्थाका प्रतिनिधि र कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मौलिक संस्कृतिको संरक्षणमा जोड

कार्यक्रमलाई सम्बोधन गर्दै महाप्रबन्धक किरण बाबु पुनले डिजिटल युग र विश्वव्यापीकरणका कारण नेपाली मौलिक लोकसंस्कृति तथा रैथाने रागहरू संकटमा पर्न थालेको उल्लेख गर्दै नौमती र सारङ्गीजस्ता सम्पदाको संरक्षणका लागि सम्बन्धित समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

उनले सांस्कृतिक सम्पदाको मौलिकता समुदायमै निहित हुने भएकाले त्यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरणलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै विश्वविद्यालयका संगीत तथा संस्कृति सम्बन्धी पाठ्यक्रममा नेपाली लोकराग र नौमती–सारङ्गीसम्बन्धी अध्ययनलाई समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

सरकार संस्कृति संरक्षणमा प्रतिबद्ध

प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले नेपाली कला, संस्कृति र सम्पदाको संरक्षणमा सरकार गम्भीर रहेको बताए। उनले सांस्कृतिक संस्थानलाई नीतिगत रूपमा थप सुदृढ बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मौलिक संस्कृतिको संरक्षणमा संस्थानले खेलेको भूमिकाको प्रशंसा गरे।

मौलिक रागहरूको प्रत्यक्ष प्रस्तुति

उत्सवमा पाल्पा, कास्की, तनहुँ, इलाम, रामेछाप, गोरखा, लमजुङ र धादिङका कलाकारहरूले नौमती तथा सारङ्गीमार्फत विभिन्न मौलिक लोकरागहरूको प्रत्यक्ष प्रस्तुति दिएका थिए।

वरिष्ठ सारङ्गी वादक रामबहादुर गन्धर्व, कृष्णबहादुर गन्धर्व र धर्म गन्धर्वको सारङ्गी वादनले दर्शकको मन जित्यो। त्यस्तै वरिष्ठ लोकगायक राजु परियार र लोकप्रिय गायिका रीता थापा मगरले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा वरिष्ठ लोकगायक राजु परियारले नौमती बाजामा दिनभरका विभिन्न समयअनुसार छुट्टाछुट्टै लोकराग रहेको उल्लेख गर्दै ती रागहरूको संरक्षण र अभ्यास आवश्यक रहेको बताए।

पुस्तान्तरण र संरक्षण अभियान

सांस्कृतिक संस्थानका अनुसार नौमती तथा सारङ्गीसँग सम्बन्धित मौलिक राग, वादन शैली र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो।

कार्यक्रम संयोजन संस्थानकी कार्यक्रम तथा योजना शाखा संयोजक रेखा कुमारी कटुवाल श्रेष्ठले गरेकी थिइन् भने सञ्चालन कलाकार रोहित सुवेदीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी