बागमती एमाले संसदीय दलका नेता थपलिया ओली निवासमा मुर्छित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासभित्रै बेहोस भएर ढलेका छन् । उनलाई राति नै अस्पताल पुर्‍याइएको थियो ।

ओलीले प्रदेशका सांसदहरूलाई नयाँ सरकार गठनका विषयमा छलफलका लागि गुण्डु बोलाएका थिए । सचिव महेश बस्नेत पनि सहभागी वैठक बेलुकी ७ बजेदेखि झण्डै १ बजेसम्म चलेको थियो । बैठक तनावपूर्ण रहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार यत्रो दिन बितिसक्दासम्म सरकार बनाउन नसकेको, प्रदेशमा प्रभावकारी भूमिका नखेलेको जस्ता आरोप सांसदहरुले थपलियामाथि लगाए । ओलीले पनि उनलाई दपेटेका थिए । यही क्रममा तनाव बढ्दै जाँदा थपलिया ढलेर बेहोस भएको वैठकमा सहभागीले बताएका छन् ।

एक सांसदका अनुसार थपलिया ढलेपछि पनि ओलीले रुखो व्यवहार देखाएका थिए । ‘आफ्नै पार्टीमा छलफल गर्न नसक्नेले सरकार चलाउन के सक्लान्’ भन्दै उनले छिटो उठाएर लैजान निर्देशन दिएको ती सांसदको भनाइ छ ।

जेएनलाई त्यहाँ पानी छम्किएर होसमा ल्याइएको थियो । त्यसपछि राति नै मध्यपुर थिमी अस्पताल भर्ना गरियो । उनको सुगर लेभल र प्रेसर बढेको पाइएको र अस्पतालले केही औषधि चलाएर डिस्चार्ज गरेको बताइएको छ ।

‘वैठकमा अध्यक्षज्यूले अपमानजनक ढंगले बोल्न थाल्नुभयो । जेएन कमरेडले केहीबेर प्रतिवाद गरेपछि अचानक ढल्नुभयो’, स्रोतले भन्यो ।

थपलियालाई लिएर अस्पताल पुगेका एक सांसदले नेपाल प्रेससँग भने, ‘अब पार्टीगत बहुमत नआउने अवस्था रहेन । व्यक्तिगतमा गइभइसकेपछि सबैलाई बहुमत पुर्‍याउन नेतृत्वले खुल्लाा गरेको हो । हिजोसम्म त जेएनले नै पुर्‍याउन सक्नुहुन्छ कि भनेर सबैले पर्खियौँ ।’

तपाईँले बहुमत ल्याउन नसक्ने हो भने सबै (२५ जना) सांसदलाई नै खुल्ला गरौँ भनेपछि थपलियाले आफूले पार्टीमा वर्षौँदेखि गरेको त्याग तपस्यामाथि अन्याय भएको गुनासो गरेका थिए । अहिले आएको अवसरमाथि पनि षड्यन्त्र भएको भन्दै उनले कार्यकालको अन्तिमतिर बरु राजीनामा दिन तयार रहेको बताएको स्रोतको भनाइ छ ।

बैठकमा जेएन र किरण थापातर्फका सांसदहरूले आ-आफ्नो पक्षमा अडान राखेका थिए । खासगरी राप्रपालाई मनाउने कुरामा अहिलेसम्म किन नसकेको भन्दै प्रश्न उठ्यो ? पार्टीको हातमा आइसकेको मुख्यमन्त्री फुत्काउन नहुने भन्दै जसले सक्छ त्यो बहुमत पुर्‍याउन लाग्नु त्यही अनुसार संवाद बढाउन ओलीले निर्देशन दिए । थपलियाले आफूले पनि राप्रपा दलका नेता उद्धव थापासँग छलफल गरेको तर, संस्थागत निर्णय नभई साथ दिन नसक्ने बताएकाले पार्टीले पनि पहल गर्नुपर्ने माग राखे ।

छलफलमा सहभागी एक नेताले भने- अध्यक्षज्यूले सौहार्दैपूर्णरूपमा कुरा गर्नुभएको हो । कमसेकम अहिलेलाई जसले बहुमत पुर्‍याउन सक्नुहुन्छ उहाँले भोलिसम्म ल्याउनुहोस्, सरकार गठनको प्रक्रिया थालिहालौँ । बरु बीचमा जेएन कमरेडलाई पनि एकपल्ट जिम्मेवारी दिएर इण्ड गराउने कुरा भएको हो ।

गत शुक्रबार ओली र महासचिव शंकर पोखरेलसहित बसेर यस प्रदेशमा संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेका थिए ।

थपलियालाई नै मुख्यमन्त्री बनाउने नेतृत्वबीचको सहमतिअनुसार हिजोसम्म सरकार गठनको प्रक्रिया थाल्न भनिएको थियो ।

तर, किरण थापाले राप्रपाका केही सांसदलाई समेत गुण्डु लिएर गएको र बहुमत पुर्‍याइदिने बाचा गराएपछि कुरा भाँडिएको एक नेताको जिकिर छ ।

हिजोको बैठकमा १७ जना सांसद उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी