काठमाडौँ । उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच छलफल भइरहेको हो।
कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो।
मेहताको मृत्यु भएपछि उनका परिवारले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएका थिए। त्यसपछि गृहमन्त्री गुरुङ आफैं शिक्षण अस्पताल पुगेर परिवारसँग वार्तामा बसेका हुन्।
यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले गृहमन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता तथा छलफल गरेका थिए।
गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा विचारविमर्श भएको थियो।





