काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढङ्गले अघि बढे त्यसलाई रोक्न एमाले सडकमा उत्रिन तयार रहेको बताएका छन्।
दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन भएको चार महिना मात्र भएकाले तत्काल विकल्प खोज्ने अवस्थामा आफूहरू नरहेको बताए।
उनले भने, ‘सरकारले काम गर्न सुरु गरेको चार महिनामै विकल्प खोज्नुपर्ने अवस्था आइसकेको छैन। तर स्वेच्छाचारी ढङ्गले अघि बढेका गतिविधिलाई रोक्न जनता फेरि सडकमा आउनुपर्ने स्थिति आउन सक्छ। मुलुकको रक्षा र जनहितका लागि हाम्रो पार्टीले कार्यकर्तालाई जुनसुकै बेला सडकमा आउन तयार रहन भनेको छ।’
पोखरेलले प्रतिपक्षमा रहेका लोकतान्त्रिक दलहरूले सरकारलाई गलत दिशामा जानबाट रोक्न सहकार्य गर्नुपर्ने बताए। साथै, राजनीतिक दलहरूले जनताको विश्वास जित्न आफूभित्र पनि सुधार आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘राजनीतिक दलहरूले जनताको विश्वास जित्न आफूलाई सुधार गर्नुपर्छ। हाम्रो पार्टी पनि निरन्तर सुधारको प्रक्रियामा अघि बढ्छ। संविधान, लोकतन्त्र र जनअधिकारको रक्षा गर्न एमाले प्रतिबद्ध छ।’
भदौ २४ गतेको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गरिएको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले सुनसरी घटनामा पनि वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नै राजनीतिक जिम्मेवारी लिनुपर्ने बताए।
उनले भने, ‘त्यतिबेला सुरक्षा निकायले गरेको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वले लिनुपर्छ भनिएको थियो। अहिले पनि यही मापदण्ड लागू हुनुपर्छ। यो सरकारले आफ्नो कार्यकालमा भएको बल प्रयोगबाट भएका क्षतिबाट उन्मुक्ति पाउन सक्दैन। या त प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा हामीले गलत गरेका थियौँ भनेर माफी माग्नुपर्यो, होइन भने राजीनामा दिएर कानुनी प्रक्रियाका लागि बाटो खोलिदिनुपर्यो। शासनमा दोहोरो मापदण्ड हुन सक्दैन।’
पोखरेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको विषय पनि उठाएका थिए।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणलाई आधार बनाएर गिरफ्तार गर्ने कुरा सामान्यतया उचित होइन। सम्पत्ति शुद्धीकरण कालो धनसँग सम्बन्धित विषय हो। तर कर प्रणालीका झन्झटका कारण वैध आम्दानी पुष्टि गर्न नसकेको सम्पत्तिलाई नै कालो धन मान्न थालियो भने नेपालमा व्यापार–व्यवसाय गर्ने धेरै मानिस त्यसको मारमा पर्न सक्छन्।’





