मन्त्रिपरिषद्का विभिन्न निर्णय : तथ्याङ्क नियमावली संशोधनदेखि लगानी बोर्डको सीईओ नियुक्तिसम्म

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न मन्त्रालय र क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यस्तै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ। साथै, उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड मा गाभ्न स्वीकृति प्रदान गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डा. खड्कबहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्