काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार गठन वा फेरबदलसँग सम्बन्धित सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ।
बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा नजोडिने स्पष्ट पारे।
उनले प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीचको सहमतिमै गठन हुनुपर्ने राप्रपाको धारणा रहेको बताए।
‘केही प्रदेशमा सरकार फेरबदलको विषयमा छलफल भइरहेको छ। त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी छैन र त्यस्तो गतिविधिमा राप्रपा लालायित पनि छैन,’ लिङ्देनले भने, ‘प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाले मिलेर नै बनाउनु उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो।’
यद्यपि, भविष्यमा राजनीतिक परिस्थितिअनुसार राप्रपाले निर्णय लिनुपर्ने अवस्था आए त्यसबारे उपयुक्त समयमा निर्णय गरिने उनले बताए।
‘आवश्यक परे उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो बैठकले गरेको छ,’ लिङ्देनले भने।





