काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढ्दै गएको दाबी गर्दै यही कारण सरकारको आयु छोटिन सक्ने बताए।
विप्लवले परिवर्तनका पक्षधर तथा प्रगतिशील शक्तिहरू पनि वर्तमान राजनीतिक अवस्थाप्रति निराश रहेको उल्लेख गर्दै जनताले ठूलो धोका महसुस गरिरहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि क्रमशः कमजोर बन्दै गएको उनको भनाइ थियो।
उनले मुलुकको आर्थिक अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै विदेशी ऋणको बढ्दो भार, उत्पादनमा आएको गिरावट, सुकुम्बासी समस्या, मिटरब्याज पीडित तथा लघुवित्त पीडितका समस्याप्रति सरकार उदासीन रहेको आरोप लगाए।
सरकारले यी समस्या तत्काल समाधान नगरे नयाँ आन्दोलन सुरु गर्ने चेतावनी पनि उनले दिए।
कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यबारे बोल्दै विप्लवले परम्परागत ढंगले पार्टी फुटाउने वा थप्ने प्रवृत्तिबाट राजनीतिक निकास सम्भव नहुने धारणा व्यक्त गरे।





