काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशकहरूसँग अर्थतन्त्रको वर्तमान अवस्था र वित्तीय क्षेत्रका चुनौतीबारे छलफल गरेका छन्।
अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग नबढ्नुको प्रमुख कारण लगानीमैत्री वातावरणको अभाव रहेको औंल्याउँदै लगानीको वातावरण सुधार गर्न सुझाव दिएका छन्।
अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुधार, कर्जा विस्तारका उपाय तथा राष्ट्र बैंकका विभिन्न विभागले गरिरहेका कामबारे जानकारी लिएका थिए। साथै, अर्थतन्त्रलाई गति दिन आवश्यक सुझाव पनि मागेका थिए।
छलफलमा सहभागी एक कार्यकारी निर्देशकका अनुसार उद्योगी–व्यवसायी र बैंकरसँगको छलफलपछि अर्थमन्त्रीले कर्जा प्रवाहमा देखिएको सुस्तताको कारण, नीतिगत समस्या र समाधानका उपायबारे राष्ट्र बैंकका अधिकारीसँग धारणा लिएका हुन्।
अधिकारीहरूले उद्योगी–व्यवसायीको मनोबल कमजोर भएका कारण कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको बताएका थिए। उनीहरूले लगानीको वातावरण सुधार, नीतिगत स्पष्टता र निर्णय प्रक्रियामा सहजता ल्याउनुपर्ने सुझाव दिएका छन्।
छलफलका क्रममा अर्थ सचिवले कर्जा नोक्सानी व्यवस्था, कालोसूची, चालु पुँजी कर्जा, सम्पत्ति वर्गीकरण, सेन्ट्रल केवाईसी र सम्पत्ति शुद्धीकरण (एएमएल) सम्बन्धी नीतिमा थप स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए।
राष्ट्र बैंकका अधिकारीहरूले बैंकहरूले उठाएका धेरै विषय चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सम्बोधन भइसकेको उल्लेख गर्दै केही नीतिगत सुधार कार्यान्वयन हुन समय लाग्ने बताएका थिए। साथै, कर्जाको माग बढ्ने वा घट्ने विषयमा ब्याजदर मात्र निर्णायक कारक नहुने उनीहरूको धारणा थियो।
छलफलमा अर्थमन्त्री वा अर्थ सचिवले कुनै निर्देशन नदिएको र गभर्नर कार्यालयको समन्वयमा कार्यकारी निर्देशकहरू बैठकमा सहभागी भएको पनि जनाइएको छ।
बिहानको छलफलमा सबै कार्यकारी निर्देशकले धारणा राख्न नभ्याएकाले बाँकी अधिकारीसँग साँझ पुनः छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ।





