२८ साउनमा दर्ता हुँदै ‘जय नेपाल पार्टी’, चुनाव चिन्हमा ‘त्रिभुज’को सम्भावना बलियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा गठन हुन लागेको जय नेपाल पार्टी २८ साउनमा निर्वाचन आयोगमा दर्ता गर्ने तयारीमा छ। पार्टीको चुनाव चिन्हका लागि त्रिभुज, घर र नमस्कार गरी तीन विकल्पमा छलफल भइरहेको छ।

पार्टीका कार्यालय प्रमुख सगुन लावतीका अनुसार हालसम्म ‘त्रिभुज’ चुनाव चिन्ह बन्ने सम्भावना सबैभन्दा बलियो छ। यद्यपि, गीता राणाको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक पार्टीसँग एकता भए ‘नमस्कार’ चुनाव चिन्ह अपनाउने सम्भावना पनि कायमै रहेको उनले बताए।

‘२८ गते दल दर्ता गर्ने तयारी छ। २७ गतेसम्म पनि छलफल जारी रहने भएकाले अहिले नै कुनै सम्भावना समाप्त भएको भन्न मिल्दैन,’ लावतीले भने।

उनका अनुसार पार्टी दर्ताका क्रममा १०० भन्दा बढी केन्द्रीय सदस्यसहितको नामावली निर्वाचन आयोगमा बुझाइनेछ। पार्टीको विधान तयार गर्न माधव कल्पितको नेतृत्वमा र दर्तासम्बन्धी काम मिलाउन मुकुन्दश्याम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको चाबहिलमा सञ्चालनमा आएको छ।

नयाँ दलमा नेपाल लोकतान्त्रिक पार्टीसहित विभिन्न पक्षसँग छलफल भइरहेको नेताहरूले बताएका छन्। कानुनका प्राध्यापक युवराज संग्रौलालाई पनि पार्टीमा सहभागी हुन आग्रह गरिएको स्रोतको दाबी छ।

यसबीच, पार्टीमा महिला र युवाको प्रतिनिधित्वलाई लिएर प्रश्न उठ्न थालेका छन्। रञ्जन कार्कीले नेतृत्व तहमा महिला र युवाको उल्लेख्य सहभागिता, डिजिटलमैत्री कार्यशैली र अपाङ्गमैत्री संरचना हुनुपर्ने धारणा राखेका छन्।

यस्तै, महिला नेतृ अञ्जना शाह रावलले सामाजिक सञ्जालमार्फत नयाँ पार्टीको सुरुआती चरणमै विधानको पालना र समावेशिताबारे प्रश्न उठाएकी छन्।

राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणालाई पार्टीको सभापति र दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाउने तयारीसहित जय नेपाल पार्टी २८ साउनमा निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी