काठमाडौं। सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि आवेदन आह्वान गरेको थियो। छनोट प्रक्रियाको अन्तिम तीनमा नागेन्द्र साह, कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए।
निगमका पूर्व निमित्त कार्यकारी निर्देशकसमेत रहेका साहलाई निगममा लामो समय काम गरेको अनुभवका आधारमा कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
नवनियुक्त कार्यकारी निर्देशक साहले अहिले देखिएको खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन तथा निगमको सेवा प्रवाहलाई प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो समय ग्यास अभावका कारण देशका विभिन्न स्थानमा उपभोक्ता लाइनमा बस्न बाध्य भइरहेका छन्।





