कांग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुरुदेखि सुनुवाइ गर्ने भएको छ।

कांग्रेसका असन्तुष्ट समूहले यसअघि भएको फैसलाको पुनरावलोकन माग गर्दै दिएको निवेदनमा सर्वोच्चले निस्सा दिने आदेश गरेपछि विवाद फेरि सुनुवाइ प्रक्रियामा जाने भएको हो।

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनका लागि अनुमति (निस्सा) दिएको हो।

अब नयाँ इजलासबाट कांग्रेस विवादमा यसअघि भएको फैसला सदर वा उल्टिने निर्णय हुन सक्नेछ। फैसला उल्टिएमा कांग्रेसको असन्तुष्ट समूहको मागअनुसार विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले मान्यता नपाउने अवस्था आउन सक्छ भने फैसला सदर भए विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले निरन्तरता पाउनेछ।

यसअघि न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो। सोही इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको थियो।

उक्त फैसलाको पुनरावलोकन माग गर्दै देउवाले गत साउन ७ गते वारेसमार्फत सर्वोच्चमा निवेदन दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी