कामदार उत्पादन गर्न कम्पनी गठन गरिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ साउन, काठमाडौं । पूर्वाधार क्षेत्रमा आवश्यक श्रमिकहरूको अभाव भइरहेको सन्दर्भमा सरकारले समस्या समाधानका लागि विशेष पहल गर्ने भएको छ ।

पूर्वाधार क्षेत्रका लागि आवश्यक श्रमिक स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायी समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे सहितको महासंघ नेतृत्वसँग बिहिबार भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले उक्त कम्पनीमा ७० प्रतिशत निजी क्षेत्रको तथा ३० प्रतिशत सरकारको हिस्सा रहने जानकारी गराए ।

छलफलमा कम्पनी स्थापनाका लागि पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिको संयोजकत्वमा एक समिति गठन गर्ने र कम्पनीलाई आवश्यक पर्ने मुलुकको पूर्वाधार क्षेत्रका लागि आवश्यक जनशक्तिको वास्तविक तथ्याङ्क नेपाल निर्माण व्यवसायी महासंघले उपलब्ध गराउने निर्णय गरिएको छ ।

छलफलमा मन्त्रीद्धय लम्साल र यादवले मुलुकमै पूर्वाधार क्षेत्रका लागि आवश्यक जनशक्ति तयार गर्न सकिएमा विकराल बन्दै गएको बेरोजगारीको समस्या हल गर्न सहयोग पुग्ने धारणा राखे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी पूर्वाधार क्षेत्रलाई व्यवस्थित बनाउने सरकारी प्रयासको प्रंशसा गरे । हाल नेपाली निर्माण कम्पनीहरू विदेशमा समेत काम गर्न सक्षम रहेको बताउँदै अध्यक्ष पाण्डेले निर्माण कार्यका लागि स्वदेशी कामदारहरूलाई विदेश लैजाने कार्यमा सहजीकरण गरिदिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवको ध्यानाकर्षण गराए ।

पूर्वाधार क्षेत्रमा आबद्ध श्रमिकहरूको जिल्ला दर कम्तीमा एक हजार रुपैयाँ तोक्न अध्यक्ष पाण्डेले अनुरोध गर्दा मन्त्रीद्धयले सोही बमोजिम गरिने जानकारी दिए । छलफलमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पूर्वाधार क्षेत्रको विकास सँगसँगै निर्माण व्यवसायीहरूको स्तरोन्नति र निर्माण क्षेत्रमा आबद्ध मजदुरहरूको सुरक्षा तथा सुविधामा सरकार गम्भीर रहेको धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी