संसद्को बहुमतले जनताको संवेदनशीलता बुझेन : भीष्मराज आङदेम्बे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान सरकारले आदिवासी जनजाति, दलित, महिला तथा सीमान्तकृत समुदायको मुद्दालाई उपेक्षा गरेको आरोप लगाएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेता आङदेम्बेले राजनीतिक यात्रामा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गर्दै पार्टीको स्पष्ट दृष्टिकोण र दृढ सङ्कल्पले मुलुकको सबै भूगोल र समुदायको संवेदनशीलतालाई सम्बोधन गर्ने दाबी गरे। संसद्मा देखिएको वर्तमान सत्ता समीकरण र अङ्कगणितलाई ‘नाटक’ को संज्ञा दिँदै उनले दुई-तिहाइ नजिकको बहुमत भए पनि सरकारले वास्तविक जनताको आवाज उठाउन नसकेको तर्क गरेका छन्।

‘जस्तोसुकै प्रतिकूल परिस्थिति वा आँधीहुरी आए पनि नेपाली काँग्रेसको लक्ष्य र उद्देश्य विचलित हुँदैन,’ काँग्रेस नेता आङदेम्बेले भने, ‘विशेष महाधिवेशनपछि सङ्गठित भएको काँग्रेस थप सुदृढ र परिष्कृत भएर अगाडि बढेको छ।’

उनले सिंहदरबारभित्रको बहुमतले सर्वसाधारणको समस्या बुझ्न नसकेको बताए। ‘सिंहदरबार भित्र देखिएको यो बहुमतले आदिवासी जनजाति, दलित, महिला र गरिब किसानको संवेदनशीलता बुझ्न सकेको छैन,’ उनले थपे, ‘यो सरकार नैतिक धरातलमा उभिएको छैन।’

मुलुकको लोकतन्त्र रक्षा र संविधानमा सबै वर्गको अधिकार सुनिश्चित गर्न नेपाली काँग्रेस नै नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा उनले जोड दिएका छन्। भूगोलमा रहेका पार्टी कार्यकर्ताहरूलाई आफ्नो आवाज सशक्त बनाउन आग्रह गर्दै उनले भविष्यमा कसैले खोस्न नसक्ने गरी उत्पीडितका अधिकारहरूलाई संवैधानिक दस्ताबेजमा लिपिबद्ध गर्नुपर्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्