विराटनगर । सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछिको आगजनी, तोडफोड र लुटपाटमा परेका पीडितहरूले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्।
गत साउन १० गते आइतबार दुई समुदायबीचको झडपपछि भड्किएको हिंसाले उग्र रूप लिँदा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। घटनाको दुई साता बितिसक्दा पनि सरकारले राहतको कुनै कदम नचालेको पीडितहरूको भनाइ छ।
हिंसाको क्रममा प्रहरीले क्षतिको विवरण सङ्कलन गरे पनि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारले हालसम्म मुख खोलेको छैन। देवानगञ्ज घटनाको तीन दिनपछि भोक्राहास्थित फूलचोकमा रहेको ‘ब्रदर्स हार्डवेयर’ मा तोडफोड र आगजनी भयो। १० वर्षदेखि सञ्चालित उक्त पसलका सञ्चालक इरफान अलीले एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताए।
उनले भने, “सटर फोडेर सामान लुटियो र बाँकीमा आगो लगाइयो। प्रहरी र बिमा कम्पनीका प्रतिनिधिले मुचुल्का उठाएर लगे पनि राहतबारे कतैबाट जानकारी आएको छैन।”
कप्तानगञ्ज घटनाका क्रममा सशस्त्र प्रहरीको गोली लागि स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै र उपचारका क्रममा जयप्रकाश मेहताको विराटनगरमा मृत्यु भएको थियो। घटनामा १० जना घाइते भएका थिए। घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतकको घरमै पुगेर परिवारलाई राहत, रोजगारी र मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया सुरु गर्ने सम्झौता गरे।
तर, सोही हिंसामा घर, पसल र व्यवसाय गुमाएका सयौँ पीडितका लागि भने कुनै सरकारी निर्णय भएको छैन। देवानगञ्ज–३ स्थित समृद्धि आल्मुनियम एन्ड स्टिल ग्लास हाउसका सञ्चालक नवल शर्माले भने, “हामीले बैंक र सहकारीबाट ऋण लिएर व्यवसाय चलाएका थियौँ। अब न सामान छ, न पुँजी। व्यवसाय पुनः उठाउने आधार नै हराएको छ।”
पीडितहरूले राज्यले मानवीय क्षतिलाई मात्र हेरेर आर्थिक रूपमा विस्थापित भएकाहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
यस्तो छ प्रारम्भिक क्षतिको विवरण
देवानगञ्ज घटनाको असर इनरुवा, हरिनगर, कोसी र भोक्राहा नरसिंह गाउँपालिकासम्म फैलिएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार घटनामा ६९ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। जसमध्ये ४४ वटा दुईपाङ्ग्रे, ५ वटा तीनपाङ्ग्रे र १ वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।
त्यस्तै, तोडफोड र आगजनीबाट २३ वटा पक्की घर र ३४ वटा कच्ची घर प्रभावित भएका छन्। तीमध्ये १३ पक्की र २५ कच्ची घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने दुईवटा मन्दिरमा समेत आंशिक क्षति भएको प्रहरीले जनाएको छ। डीएसपी खड्काले भौतिक संरचना र सवारीसाधनको विवरण सङ्कलन सम्पन्न भए पनि कुल आर्थिक क्षतिको यकिन मूल्याङ्कन भइरहेको जानकारी दिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाभर भएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको बताए । उनले भने, “पीडितलाई कसरी राहत उपलब्ध गराउने भन्ने विषयमा माथिल्लो निकायबाट अहिलेसम्म कुनै स्पष्ट निर्देशन प्राप्त भएको छैन।” राज्यको मौनताका कारण आर्थिक रूपमा विस्थापित भएका सयौँ नागरिकहरू भने अन्योल र चिन्तामा छन्।





