विपक्षी सांसदलाई रास्वपाको आरोप– विगतमा भारतको नुन खाएको कुरा उठाउनुभएको त होइन ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरिरहेको विरोधप्रति आपत्ति जनाउँदै उनीहरूको नियतमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद चौधरीले विपक्षी सांसदहरूले नेपालको संसद्मा उभिएर भारतको पक्षमा बोलेको भन्दै ‘विगतमा भारतको नुन खाएको’ त होइन भनी प्रश्न गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले महिनौँदेखि सदन अवरुद्ध गरिरहेकोमा चौधरीले आक्रोश पोखे । ‘नेपालले भूभाग मिच्यो भनेर यदि प्रधानमन्त्रीले भनेको कुरामा भारत सरकारलाई आपत्ति थियो भने त्यो दिल्लीको संसद्मा उठ्नुपर्ने विषय हो,’ उनले भने, ‘तर यहाँ प्रतिपक्षले बारबार किन यो विषय बोल्छ ? कतै तपाईँहरूले विगतमा भारतको नुन खाएको कुरा यहाँ उठाउनुभएको त होइन ?’

विपक्षीले सत्तापक्षको राष्ट्रवाद र सार्वभौमिकतामाथि प्रश्न उठाएकोमा चौधरीले प्रतिवाद गरे । ‘जुन कुरालाई मापन गर्न सकिँदैन, त्यसमा प्रश्न नगर्नुस्,’ उनले भने, ‘राष्ट्रवाद र देशभक्ति हाम्रो रगतमा छ, यसको रङ र आकार कस्तो हुन्छ भनेर सोध्ने अधिकार कसैलाई छैन।’

चौधरीको त्यो अभिव्यक्तिको विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाएर विरोध गरेका छन् । कांग्रेस सचेतक निश्कल राई, एमाले सांसद साजिदा सिद्धिकी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले नियमापत्ति गरे ।

उनीहरूले नुन आएको प्रमाणित गरेर देखाउन चुनौती दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्