कांग्रेसको सशस्त्र विद्रोहको दस्ताबेज सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । पञ्चायती व्यवस्थाविरुद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र सङ्घर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरूको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा–उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बङ्गलादेशको उदय र सिक्किम विलयको घटनाले के–कस्तो प्रभाव पारेको थियो ? आदि विषयमा रुचि राख्ने पाठकहरूका लागि कांग्रेसको सशस्त्र विद्रोहको दस्ताबेज नै सार्वजनिक भएको छ ।

बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरुमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्– इलामका धर्म गौतम ।

गौतमले आफ्नो राजनीतिक एवं व्यक्तिगत जीवनलाई संस्मरणमा समेटेर लेखेको रोचक पुस्तक प्रकाशनमा आएको छ, जसमा नेपाली राजनीतिका थुप्रै अनुद्घाटित प्रसंगहरु छन् । ‘बीपी र विद्रोहका ती दिन’ शीर्षकको यो किताब एक व्यक्तिको जीवनकथा मात्र होइन, यसले मुलुकको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण कालखण्डलाई समेटेको छ ।

‘मेरो इलामबाट सुरु भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बिहार, बनारस हुँदै काठमाडौँसम्म तन्केको थियो ? त्यस क्रममा देखे–भोगेका घट्नाहरु के थिए ? पुस्तकमा मैले यिनै कुरालाई विस्तारमा भन्ने प्रयत्न गरेको छु ।’, लेखक गौतमले भनेका छन् ।

उनले विसं २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्य पाएका थिए । बीपीले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आह्वान गरेको सशस्त्र सङ्घर्षमा सामेल भएका थिए । त्यसै क्रममा भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए । र, बीपीकै निर्देशनमा ०३३ कात्तिकमा स्वदेश फर्कने क्रममा पक्राउ परेर करिब चार वर्ष बन्दी जीवन बिताएका थिए ।

‘बीपी र विद्रोहका ती दिन’ किताब पब्लिशर्सले प्रकाशन गरेको हो । यसमा तपाईंले नेपाली राजनीतिबाहेक गौतमको जीवनका अन्य थुप्रै आयामहरू पनि पढ्न पाउनु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्